सिमकोट । नेपाल र चीनको सिमानामा चीनले नेपाली भूभाग मिचेरको विषयमा अध्ययन गर्न नेपालको सरकारी टोली आज हुम्ला पुगेको छ ।
गत वर्ष नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको हो ।
गत वर्ष हुम्ला जिल्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो । उक्त विवादको वास्तविक अवस्थाका बारे बुझ्न गृहमन्त्रालयका सहसभवि जयनारायण आचार्य नेतृत्वको टोली हुम्ला पुगेको हो ।
यहि भदौ १७ गते वर्तमान सरकारको मन्त्रीपरिषदले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो । दुई देश बीचको वास्तविक अवस्थालाई स्थलगत रुपमा बुझ्न आचार्य नेतृत्वको सात सदस्यीय टोली नेपालगञ्ज हुँदै सिमकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
अधिकारी आचार्यका अनुसार टोलीमा नापी विभागका उपमहानिर्देशक सुशिल झा लगायतको सहभागिता रहेको छ ।
सरकारले तीन सदस्यीय टोली गठन गरे पनि हुम्ला पुग्ने टोलीमा सातजना सदस्य रहेका छन्। जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता रहेको जनाइएको छ।
टोली संयोजक आचार्यले हुम्ला आइपुगेपछि जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिलगायतसँग सो सम्बन्धमा छलफल गर्ने बुझिएको छ।
भदौ २७ गते टोली लाप्चातर्फ लाग्नेछ। टोलीले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमास्तम्भमा पुग्ने तयारी गरेको छ।