कास्की । ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो,
जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’
एक वर्षअघि जन्मदिने आमा गुमाएकी चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यस वर्षको तीज गीत हो यो । २४ दिनअघि ९भदौ ३० मात्रै सपना म्युजिक इन्डस्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत अहिले युट्युब ‘टेन्डिङ’ मा छ । बजारमा तीज गीतको बाढी आएका बेला चरी जेलैमा गीतले सबैलाई किनारामा पारेको छ । २ भदौमा युट्युबमा राखिएको यो गीत २५ दिनमा २ करोडभन्दा पटक हेरिएको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गरिएको यो गीतले एक सातामै करोडभन्दा बढी ‘भ्युज’ कमाएको छ । ‘पुतलीको भट्टी’ शृंखला तीजकै सन्दर्भमा सार्वजनिक गर्ने परम्पराजस्तै छ । त्यसो त यसअघि पनि विष्णु माझीले गाएका आधा दर्जन गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका गीत करोडभन्दा बढी हेरिएका छन् ।
विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीम्नाबाट पाउने यातना प्रस्तुत गरिएको छ । अधिकांश गीतले तीजको मौलिकता गुमाउँदै आइरहेका बेला विष्णु माझीका गीतमा परम्परागत रूपमा नारी व्यथा समेटिएको लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी बताउँछन् । ‘खासगरी श्रीमान् खराब हुँदा महिलाले कति दुःख पाउँछन् यो गीतले देखाएको छ ।’
‘चरी जेलैमा’ गीतलाई भने गायिका विष्णुकै जीवनसँग पनि जोडेर विभिन्न टिप्पणी आइरहेका छन् । कतिपयले त उनी नै श्रीमान्को ‘जेलमा’ छन् पनि भनेका छन् । तर, गीतको शब्द भने श्रीमान् सुन्दरमणिले नै लेखेका हुन् । खासमा सफलताको उकालो चढ्न थालेदेखि नै विष्णु सार्वजनिक जीवनमा छैनन् । विष्णु सार्वजनिक जीवनमा छैनन्, गीत रेकर्डिङ गर्दासमेत राति मात्र स्टुडियो जान्छिन्, त्यो पनि श्रीमान्का साथ । उनी इन्टरनेट र सामाजिक सञ्जालमा कतै छैनन् । माइती घर जाँदिनन् ।
कतिपयले भने यो गीतबाट विष्णुले घर र श्रीमान् होइन, माइतीप्रति गुनासो गरेको टिप्पणी गरेका छन् । आम दर्शकले पनि गीतको प्रशंसा गरेका छन्, युट्युबमा १८ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । ‘गीत भनेको यस्तो हुनुपर्छ, बल्ल तीज आए जस्तो भयो,’ दर्शकले सुन्दरमणिको शब्द र विष्णुको स्वरको तारिफ गरेका छन् । गीत गाउने नगाउने निर्णय र सम्झौता श्रीमान्ले गर्छन् र पारिश्रमिक पनि उनैले लिन्छन् भन्ने कलाकारहरू नै विष्णुको स्वतन्त्रता संकटमा भएको दाबी गर्छन् । तर, प्रतिष्ठानका अध्यक्ष बीजी नै भन्छन्, ‘बाहिर सार्वजनिक नहुनु उनको स्वतन्त्रता हो तर उनी राष्ट्रिय कलाकार भएकाले पनि जनताले देख्न पाउनुपर्छ ।’
विन्ध्यावासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी भने प्रत्येक वर्ष तीज गीत निस्किएपछि विष्णु माझीको चर्चा हुने बताउँछन् । ‘गुमनाम रहनु विष्णुकै इच्छा हो, माइतीको नाताले हामीले उनलाई बाहिर ल्याउन, दुःखसुख बुझ्न धेरै पहल गर्यौं, तर उनले नमानेपछि कति पिछा लाग्नु,’ उनले थपे ।
कलाकार शिव हमाल पनि गीतसंगीतमा धेरै नयाँ कलाकार आए पनि विष्णुसँग प्रतिस्पर्धा गर्न सक्ने कोही नभएको बताउँछन् । उनको विषयलाई लिएर यतिबेला स्याङ्जा प्रहरी र प्रशासन कार्यालयले पनि फेरि चासो दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले विष्णुको अवस्था खोजी गर्न पत्राचार गरेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनले विष्णु र सुन्दरमणिलाई एक पटक भेटेर नै छलफल गर्ने तयारी भएको बताए ।
मानवअधिकार आयोगको चासो
लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा(परिचर्चा हुँदै आएका छन् ।
आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएका थिए । आयोगका प्रवक्ता टीकाराम पोखरेलले नेभने, सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।
आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।
एसपी बोगटीले भने, ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौ । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरु कुराहरु थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’ एसपी बोगटीले भने ।
आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न निर्देशन दिएको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।
‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’ प्रवक्ता पोखरेलले भने । यसअघि २०७५ सालमा पनि विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलार्य कार्यालयमा नै डाकेर सोधपुछ गरेका थिए ।
प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ । यद्यपि, उनीहरुलाई नजिकबाट चिन्ने कलाकारहरु भने श्रीमान सुन्दरमणि अधिकारीसँग विष्णु माझीको राम्रो समझदारी रहेको बताउने गर्छन् ।
अहिले विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।