सिमकोट । सरकारले शुरु गरेको जनगणनाको काम गर्न दुर्गममा समस्या भएको छ ।
हरेक दिन सूचिकरणको काम गर्न गाउँमा खटिएका गणकहरुसँग जिल्लाबाट सम्पर्क हुन नसकेपछि गणना कार्यमा थप समस्या भएको बताइएको छ ।
जनगणना कार्यालय हुम्लाले जिल्लाका सात स्थानीय तहका लागी २३ जना सुपरीवेक्षक परिचालन गरेर १२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सुरु गरेको भएपनि गाउँमा खटिएका गणकहरुसँग सम्पर्क हुन नसक्दा थप समस्या भएको जनगणना कार्यालय हुम्लाका प्रमुख विनोद भट्टले जानकारी दिए ।
गएको भदौ ३० गतेबाट गाउँ गाउँमा परिचालन गरीएको भएपनि अहिलेसम्म कोही सुपरीवेक्षक सँग सम्पर्क हुन नसक्दा कामको प्रधावकारिता मापन गर्न समस्या भएको उनको भनाई छ । सुपरीवेक्षक खटिएको हप्ता दिनसम्म भइसक्दा पनि अहिलेसम्म हामीले दुई जनासँग मात्रै सम्पर्क गर्न सकेका छौं, उनले भने भौगोलिक विकटता र सञ्चार सुविधा नहुनुले गण्ना कार्यमा निकै समस्या भएको छ ।
यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना हुने भएको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी रहेको भट्टले बताए ।
'हुम्ला भौगोली हिवासकले विकट त छदै थियो, यो सँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्यांक संकलनमा थप समस्या भएको हो' भट्टले थपे, 'भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काम प्रभावित भएको हो ।'
'सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्यांक संकलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिले सम्म सिमकोट गाउँपालिकामा खटिएका एक जना र नाम्खा गाउँपालिका खटिएका एकजना गरी दुईजना सँग मात्रै सम्पर्क भईरहेको छ' उनले थपे ।
गणनामा परिचालित सुपरीवेक्षकहरुले सोही मोबाईल एप प्रयोग गर्नुपर्ने र आफुले त्यसमा हेर्न मिल्ने भएको भएपनि अहिलेसम्म दुई जनाले मात्रै उक्त एपमा एक एक वडाको मात्रै अद्यावधिक विवरण अपलोड गरेको भएपनि अन्य वडाहरुको तथ्याङ्क उपलब्ध हुन नसकेको बताइएको छ ।
सूचीकरणका लागि अदानचुली, ताँजाकोट, चंखेली र खार्पुनाथ गाउँपालिकामा तीन जनाका दरले सुपरीवेक्षक खटाइएको छ । यस्तै सर्केगाडमा चार जना, सिमकोटमा पाँच जना र नाम्खा गाउँपालिकामा दुई जना गरेर २३ जना सुपरीवेक्षक खटाइएको छ । अक्सर बसोबासका आधारमा जनगणना गर्ने कार्य सुरु भएको उनले बताए ।
२०६८ सालको जनगणना अनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४ सय ७९ रहेको थियो । भने जिल्लाको जनसंख्या ५० हजार ८ सय ५८ रहेको छ ।