माघ २४,रोल्पा । भरुवा बन्दुकको गोली आफैलाई प्रहार गरी रोल्पामा एक युवकले आत्महत्या गरेका छन् ।
जिल्लाको दक्षिणी भेगको रुन्टिगढी गाउँपालिका-९ धाराटोलका २२ वर्षीय मिशन बुढाले आफैलाई भरुवा बन्दुक प्रहार गर्दा उनको घटना स्थलमै मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालयको अनुसार मिशनको छातीमा गोली लागेको पाईएको छ ।
घरको बुइगल जाने लिस्नोमुनि उनी रगताम्य अवस्थामा फेला परेका हुन । पत्नी घाँसपात गर्न बारीमा गएको बेला बुधबार बिहान ११ बजे बन्दुकले प्रहार गरी आत्महत्या गरेका हुन् ।
मिशन घरमा दुई वर्ष चार महिनाकी छोरीसँगै थिए । पत्नी कल्पना बुढा घाँस लिएर घर आउँदा उनी रगताम्य छ्टपटाई रहेका थिए । "छोरी बुइगलमा रुदै थिई । छ्टपटाई रहेकाबेला पानी खुवादिदा नि पिउन सक्नु भएन । एकछिन पछि प्राण नै गयो ।", कल्पना भन्छिन् । गोली लोड गरिएको बन्दुक पड्केको अवस्थामा मिशनकै छेउमा फेला परेको इप्रका होलेरीका इन्चार्ज एवं प्रहरी निरिक्षक लेखनाथ चापागाईंले बताए । प्रहरी घटनास्थल दिउँसो दुई बजे पुगेको थियो ।
घटना मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राती अबेर लगिएको ९ नम्बर वडा सदस्य पुर्ण कवरले जनाए । बिहिवार मध्यान्ह पोष्टमार्टम गरि सब परिवारलाई बुझाइएको छ । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । घरमै राखिएको बन्दुक पनि अबैध रहेको अनुमान छ ।
खेती किसान गर्ने मिशनमा छारे रोग रहेको पारिवारिक स्रोतले जनाएको छ । छ भाइ मध्ये मिशन माईला हुन् । दाईभाईसँग उनीहरु छुट्टीएर बसेका थिए । पतिको मृत्युले पत्नी कल्पना, छोरी र आफन्त शोकमा डुबेका छन । रुन्टिगढिकै दुब्रीङ गाउँमा पनि करिव छ महिना अघि एक युवकले भरुवा बन्दुक प्रहार गरी आत्महत्या गरेका थिए ।