कृष्णमाया उपाध्यय ।
जुम्ला । विगत ११ वर्ष देखि जुम्ला बहुमूखि क्याम्पसमा सञ्चालन हुँदै आएको स्नातकोत्तर तह (डिग्री)को परिक्षा यस वर्ष देखि सुर्खेतमा गर्ने भन्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
यससम्बन्धि विज्ञप्ती निकालेर परिक्षार्थीहरुले विश्वविद्यालयको निर्णइ प्रति आपत्ति जनाएका हुन् ।
आफुहरुको मागलाई सम्बोधन नगरेमा जस्तो सुकै कदम पनि चाल्न सकिने परिक्षार्थी शान्ति कुमारी बमले बताएकी छन् । परीक्षा नियन्त्रण कार्यालयले असोज ११ गतेबाट परीक्षा मिति तोकेको थियो । परीक्षा मिति तोकेको ४ दिन अघि मात्रै असोज ६ गते परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक भएपछि जुम्लाका परिक्षार्थी आन्दोलनमा उत्रिएका हुन् ।
जुम्ला बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको दोस्रो वर्षको बार्षिक परीक्षा दिने १२ जना विद्यार्थी छन् । उनीहरुले जुम्लाको बहुमुखी क्याम्पसमा परिक्षा नभएको खण्डमा परीक्षा नै बहिष्कार गर्ने बताएका छन् । जुम्लाका १२ जना परिक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय बल्खुले तोकेको परीक्षा केन्द्र सुर्खेत शिक्षा क्याम्पसमा परीक्षा दिन नजाने बताए ।
परीक्षार्थी लक्ष्मी परियारले भनिन्, ’चार दिनपछि ११ असोज देखि परीक्षा मिति तोकिएको छ । तर ७ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक हुन्छ । यसले गर्दा हामी धेरै पीडामा छौँ । बर्षातको मौसममा सडक पनि राम्रो छैन । पहिरोले सडक नै अवरुद्ध हुने गरेको अवस्थामा कसरी सुर्खेत गएर परीक्षा दिन सम्भव छ रु’, उनले भनिन् ’संघीयतापछि पनि दुर्गमका विद्यार्थीलाई अन्याय हुने काम भएको छ । जुम्ला क्याम्पसमै परीक्षा केन्द्र तोकिनु पर्दछ ।’
छोटो समयको सूचनाले सबैलाई जानकारी नै पाएको छैन अर्का परिक्षार्थी पुष्पा थापाले भनिन् । यो कामले सिधै परीक्षार्थीलाई धोका दिने काम भएको उनले बताइन् । जुम्ला केन्द्र भनेर परीक्षा फाराम भर्ने परीक्षा केन्द्र सुर्खेत बनाउने गलत प्रवृत्तिको विकास हुन थालेको उनको भनाईछ । जुम्ला बहुमुखी क्याम्पस जुम्लाका प्राध्यापक प्रकाशचन्द्र खत्रीले संघीयता पछि पनि सबै राजधानी केन्द्रीत हुने खालको काम भएको हुनाले यसले जुम्लाकधी विद्यार्थी माथि ठुला्े अन्याय भएको बताए । यसले संघीयताको मर्म मारेको उनको भनाइ छ । परीक्षार्थीको सहजताका लागि अध्ययन गरेकै क्याम्पसमा परीक्षा केन्द्र तोकिनु उपयूक्त हुने उनको भनाइ छ ।
त्यस्तै जुम्ला बहुमुख क्याम्पस जुम्लाका प्रमुख डाक्टर ओम प्रकाश आचार्यका अनुसार परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई जानकारी गराएपनि अब जुम्लामै परीक्षा केन्द्र हुने ठोस कुरा नआएका बताएका छन् । भौगौलिक रुपमा पनि जुम्लाबाट सुर्खेत गएर परिक्षा दिन कठिनाई भएको भन्नेबारे पनि केन्द्रमा जानकारी गराइएको उनले बताए ।