काठमाडौं । हरेक १० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ आजदेखि सुरु भएको छ । नेपालमा सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलो पटक जनगणना हुन लागेको हो ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
आज सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ ।
सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । त्यसका आधारमा जनगणना गरिनेछ ।
यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ ।
यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइएको श्रेष्ठले बताउनुभयो ।
यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिका सहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट) को प्रयोग गरिएको विभागले जनाएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ ।
त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । यस अवधिमा उक्त कूूटनीतिक प्रयासबाट उक्त क्षेत्रमा जनगणना गर्नसकिने वातावरण बन्ने महानिर्देशक श्रेष्ठले अपेक्षा गर्नुभयो ।
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।
जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो ।
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ ।
उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।