कृष्णमाया उपाध्यय
जुम्ला । जुम्ला लगायतको हिमाली जिल्लामा चिसो बढ्दै जाँदा बालबालिकालाई खुला आकाश मुनि राखेर पठनपाठन गर्न कठिन भएको छ ।
गत कार्तिक २ गते आएको बेमौसमी वर्षाका कारण जुम्लाको नदि किनारमा रहेका ३ वटा विद्यालयका भवन बाढी आएर बगरमा परिणत भएपछि यस्तो समस्या भएको हो ।
अनेत्र पठन पाठन गर्ने ठाउँ नहुँदा खुला आकाश मुनि वालुवा माथि ढुङ्गा बिछ्छाएर पढ्न बाध्य भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । हिमाली जिल्ला जुम्लामा दिन प्रति दिन चिसो बढ्दै गइरहेको हुनाले खुला आकाश मुनि बसेर पठनपाठन सञ्चालन गर्न कठिन भइरहेको शिक्षकहरुले बताएका छन् ।
पहिला विद्यालयमा पढ्नको लागि धेरै जना विद्यार्थी आउने भएपनि विद्यालय बाढीले बगापछि अहिले विद्यालय आउने साथीहरुको संख्या घट्दै गएको जुम्लाको नेत्रज्योति माध्यामिक विद्यालयमा अध्यनरत छात्रा सृष्टि पाण्डेले बताइन् । उनले भनिन् पहिलाको जस्तो गरेर पढ्नको लागि साथीहरु पनि विद्यालय आउँदैनन् र सरहरु पनि आउँदैनन् त्यसैले पढाइ राम्रो हुन सकेको छैन ।
विद्यालय पुरै बगरमा परिणत हुँदा विद्यालय पहिलाको अवस्थामा आउन छ की आउँदैन भन्ने चिन्ताले सताउने गरेको उक्त विद्यालयमा अध्ययनरत अर्का छात्र भवेश न्यौपानेले बताए । उनले भने विद्यालय नजिकै रहेको पुल बाढीले बगायो जंगलबाट हिडेर आउनु पर्छ । 'जंगलमा पनि जंगली जनावरको डरले आधा जति साथीहरु विद्यालय आउँदैनन्' उनले भने ।
दिन प्रति दिन चिसो बढ्दै गएको हुनाले खुला आकाश मुनिको वालुवामा ढुङ्गा बिछाएर पढ्दै आएको भएपनि हावाहुरी चलेको समयमा धेरै कठिन भइरहेको नेत्र ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत अर्की छात्रा रिता पाण्डेले भनिन् । हाम्रा पिडा कसैले बुझेका छैनन् । हामी मानसिक रुपमा पनि तनाव झेलिरहेका छौ । विद्यालयमा शौचालय छैन, खानेपानी छैन, बस्नको लागि कक्षाकोठा र बेन्च समेत नहुँदा ढुंगा ओछ्याएर बस्न सारै गारो हुन्छ ।
यस्तै जुम्लाको तिला गाउँपालिको वडा नम्बर ४ नुवाकोटको सेतिबाडा माध्यमिक विद्यालयको नदिको किनारमा रहेको विद्यालय भवनको साथै अन्य भौतिक संरचना बगाएपछि समस्या माथी जस्तै छ । उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ मा अध्ययनरत छात्र उज्वल शाहीले पनि हामीहरु खुला आकाश मुनि बस्दै आएका छौ । हाम्रो पिडा पनि कसैले बुझ्न सकेको छैन । खुला ठाउँमा गएर शौच गर्न सारै गाहे भएको छ । चिसोसँगैको हावाहुरी चलेको बेलामा त खुला ठाउँमा बसेर पढ्न सारै गाहे भएको छ उनले भने । आँखा भरी वालुवा हुन्छ, हावाले किताब कापवी समेत उडाउने र च्यातिने डर उत्तिकै छ के गरेर पढ्ने होला उनले भने । उक्त विद्यालयमा अध्ययनरत छात्रा साविता तिमिल्सेनाले भनिन् हामी छात्राहरुलाई त झन महिनावारी भएको समयमा विद्यालय जानै मन लाग्दैन । कसरी खुला ठाउँमा गउर शौच गर्ने र सरसफाई गर्ने पिरलो भएको छ ।
यस्तै जनजागृति मावी ताम्तीमा पनि विद्यालयको भवन भएको ठाउँ पुरै बगरमा परिणत भएपछि त्यहाँका विद्यार्थी समस्यामा परेका छन् । उनिहरुको विद्यालयमा पनि विद्यालयका भएका सम्पूर्ण भौतिक संरचना बगाउनुका साथै विद्यालय जाने पुल पनि बगाएको छ । विद्यालयमा रहेका सम्पूर्ण दस्ताबेजहरु प्नि बाढीले बगाएको छ । उक्त विद्यालयमा अध्यनरत छात्रा शान्ति रावतले भनिन् हामी दरदराजमा भएका विद्याथीका पिडा कसैले बुझिदिदैनन् । हामीले राम्रो सँग पढ्न पाएका छैनौ । पहिला कोरना भाइरसको महामारीका कारणले पढ्न पाएनौ अहिले बाढीले विद्यालय बगाएपछि राम्रोसँग पढ्न पाएका छैनौ उनले भनिन् ।
विद्यालय बगरमा परिण हुँदा करोडौको क्षति हुनुका साथै कसरी नियमित पठन पाठन गर्ने हो भन्ने समस्या भइरहेको जुम्लाको नेत्र ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक देविदत्त पाण्डेले बताए । नदिको किनारमा रहेको जुम्लाको तिला गाउँपालिकाको सेतिबाडा माध्यमिक विद्यालय, तातोपानी गाउँपालिकाको नेत्रज्योति माध्यामिक विद्यालय र जनजागृति विद्यालयको भवन, शौचालय र खानेपानीको धारा नदिले बगाउनुका साथै विद्यालयमा आवत जावत गर्ने पुल समेत बगाउँदा घण्टौ हिडेर विद्यालय जानु पर्ने बाध्यता रहेको विद्यार्थीहरुले बताएका छन् । विद्यालयको पुन निर्माणको लागि स्थानिय तह, प्रदेश र संघ सरकारलाई आग्रह गरिएको भएपनि तत्काल चिसो बढ्दै गएको हुनाले खुला आकाश मुनि बालबालिकालाई राखेर नियमित पठन पाठन गर्न कठिन भइरहेको शिक्षकहरुले बताएका छन् ।