सजना तिमल्सिना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा भ्रष्टाचार बिरुद्धका २२ हजार ६ सय उजुरी दर्ता भएका थिए ।
चालु आर्थिक बर्षको चार महिनामा मात्रै पनि ५ हजार ५ सय भन्दा धेरै उजुरी दर्ता भइसकेका छन् । नेपालमा भ्रष्टाचार सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै जानुले भ्रष्टाचारको दर पनि बढिरहेको देखाउँछ । सरकारी कार्यालयमा भ्रष्टाचार बढ्दै जाँदा सामान्य सेवा लिन पनि कठिन हुने गरेको सर्वसाधरणको गूनासो छ । रौतहटका गजेन्द्र ठाकुर, नेपालको प्रशासनिक क्षेत्रमा पाइलैपिच्छे भ्रष्टाचार भएको देख्नुहुन्छ ।
कर्मचारीकै कारण एकै दिनमा हुने कामका लागि हप्तौ धाउनुपर्ने उहाँको गुनासो छ । विशेषगरी भन्सार, मालपोत, यातायात कार्यालय, लगायतका ठाउँमा भ्रष्टाचार हुने गरेको सर्वसाधरण बताउँछन् । सरकारले भ्रष्टाचारमा शून्य शहनशिलताको नीति लिएको छ । तर सन् २०२० मा सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा १ सय १७ औं स्थानमा रहेको देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो १० वर्षको तथ्याङ्कले पनि भ्रष्टाचार बढ्दै गएको देखाउँछ । त्यसमा स्थानीय तहको अनियमितता बारेको उजुरी धेरै पर्ने गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो ।
राजनीतिक संरक्षण, दण्डहिनता, कानुन अभावमा नेपालमा भ्रष्टाचार बढिरहेको र यसलाई कम गर्न नागरिक, संघ, सस्था र नेतृत्व लाग्नुपर्नेमा सुशासन विज्ञ कृष्ण ज्ञवालीको जोड छ । आयोगको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७÷६८ मा ६ हजार एक सय ४५ भ्रष्टाचार बिरुद्धका उजुरी परेकोमा आर्थिक वर्ष २०७७/७८ मा उजुरीको सङ्ख्या २२ हजार ६ सय २५ पुगेको छ ।
भ्रष्टाचार बिरुद्ध उजुरी गर्ने क्रम बढेपनि भ्रष्टाचार बिरुद्धको अभियान कमजोर हुँदा सामान्य कामको लागि पनि सर्वसाधारणले दुःख पाउने क्रम रोकिएकौ छैन । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।