काठमाण्डौं । देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस अहिले १४ औँ महाधिवेशनमार्फत आठजनाले नेतृत्व गरेका छन् ।
आठ जनामध्ये सबै भन्दा बढि पार्टी सभापतिमा स्पवर्गिय गिरिजाप्रसाद कोइराला छन् भने दुई कार्यकाल सभापति हुनेमा सेरबहादुरदेउवा वि.पी. कोइराला लगायतका नेताहरु रहेका छन् ।
राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित रहेर बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट लोकतन्त्रका माध्यमबाट देशको शान्तिपूर्ण विकास कांग्रेसको उद्देश्य रहिआएको छ ।
वी।पी। कोइरालाले २ अक्टोबर १९४६ मा पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सङ्गठन निर्माण गर्ने उद्देश्यबाट कांग्रेसको जन्म भएको हो ।
प्रथम महाधिवेशन
भारतको कोलकाता भवानीपुरमा रहेको खालसा हाइस्कुलमा भएको प्रथम महाधिवेशनले नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राख्यो । सङ्गठनको स्वरुप तथा प्रणाली निर्माण निर्माण गर्ने उद्देश्यका साथ २००३ साल माघ १२–१३ गतेसम्म महाधिवेशन भएको थियो ।
कारागार तोडेर आएका गणेशमान सिंहलगायत नेपाल तथा भारतका विभिन्न ठाउँबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता रहेको यस समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा। डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गर्नु भएको थियो ।
भारतका तत्कालीन राष्ट्रपति आचार्य जे.बी. कृपालानी लगायत दर्जनौँ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्षीय युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल कारागारमा आजन्म कैदको सजाय भोगेका टङ्कप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गरेको थियो ।
दोस्रो महाधिवेशन
नेपाली राष्ट्रिय कांग्रेसले नेपालको वैधानिक कानुन २००४ ले जनताको हक, अधिकारको संरक्षण गर्न नसक्ने तथा नजरबन्दमा रहेका नेता कार्यकर्ताको रिहाइ नभएकोले विधान कानुन अस्वीकार गरी आन्दोलनलाई देशव्यापी बनाउने तयारीका साथ बनारसमा २००४ साल माघ २०–२२ गते दोस्रो महाधिवेशन गरेको हो ।
यस महाधिवेशनले अहिंसात्मक आन्दोलनका माध्यमबाट विरोध गर्नका लागि सङ्गठन निर्माण गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिहरूको विधान परिषद् (संविधान सभा) ले देशको शासन व्यवस्थाको स्वरूप निर्धारण गरी संविधान बनाउने विषयलाई अगाडि बढायो ।
तेस्रो महाधिवेशन
संस्थालाई जीवन्त राख्ने तथा जनआन्दोलनको आवश्यकता, मर्म तथा उद्देश्यलाई व्यापक बनाउनका लागि २००५ साल फागुन १८ गते देखि २० गतेसम्म तेस्रो महाधिवेशन सम्पन्न भयो । महाधिवेशन भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न भएको थियो भने महाधिवेशनबाट मातृकाप्रसाद कोइराला सभापति बनेका थिए ।
चौथो महाधिवेशन
वी.पी. कोइराला र सुवर्ण शम्शेर राणाको पहलमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता कायम भइ २००६ साल चैत २६–२७ गते चौथो महाधिवेशन सम्पन्न भयो । यस महाधिवेशनमा दुवै पार्टीका प्रतिनिधिहरूको संयुक्त अधिवेशनबाट संस्थाको नाम नेपाली कांग्रेस रहन गएको हो ।
पाँचौँ महाधिवेशन
२००९ साल जेठ १०–१३ गते जनकपुरमा जननायक वी.पी.कोइरालालाई सभापतिमा चयन गरी नेपाली कांग्रेसको पाँचौँ महाधिवेशन सम्पन्न भएको थियो । देश र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउने विश्वास भएको सबैभन्दा ठूलो राजनीतिक पार्टीको अध्यक्षका हैसियतले मातृका प्रसाद कोइराला नेपालको पहिलो नागरिक प्रधानमन्त्री बने ।
नागरिक प्रधानमन्त्री भएकोले राष्टिय सङ्घर्षको एउटा अभियान समाप्त भएकाले यसभन्दा अगाडिका महाधिवेशनहरूमा राखिएको बाँकी राजनीतिक उद्देश्य प्राप्तिका लागि ठोस अभियान सञ्चालन गर्ने, जिम्मेवारीलाई राजनीतिक र आर्थिक दिशाबाट सम्पन्न गर्नुपर्ने, उद्देश्यका साथ महाधिवेशन सम्पन्न भएको थियो ।
छैटौँ महाधिवेशन
२०१२ साल माघ १०–११ गते वीरगञ्जमा सुवर्ण शम्शेर राणालाई सभापति घोषणा गरी नेपाली कांग्रेसको छैटोँ महाधिवेशन सम्पन्न भयो ।
महाधिवेशनले लोकतन्त्रका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनका माध्यमबाट समाजवादको निर्माण, सामाजिक न्याय, राष्ट्रिय योजना समिति निर्माण गर्ने लगायत विभिन्न १८ वटा प्रस्तावहरू पारित भएको थियो ।
सातौं महाधिवेशन
२०१६ साल वैशाख २५ देखि ३१ सम्म काठमाण्डौमा भएको सातौँ महाधिवेशनले वी.पी. कोइरालालाई पुनस् पार्टी सभापति बनायो ।
आठौँ महाधिवेशन
२०४८ साल फागुन १ गतेदेखि ३ गतेसम्म झापामा भएको महाधिवेशनबाट कृष्ण प्रसाद भट्टराई सभापतिमा निर्वाचित भए ।
नवौँ महाधिवेशन
२०५३ साल वैशाख २६ गतेदेखि ३० गतेसम्म काठमाण्डौमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भएका थिए ।
दशौँ महाधिवेशन
२०५७ साल माघ ६ गतेदेखि १० गतेसम्म पोखरामा सम्पन्न महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला नै सभापतिमा निर्वाचित हुनु भएको थियो ।
एघारौँ महाधिवेशन
२०६२ साल भदौ १ गतेदेखि ४ गतेसम्म भएको महाधिवेशनमा पनि फेरि गिरिजाप्रसाद कोइराला नै सभापति चुनिनु भयो । सभापतिको चुनावमा उनले शेरबहादुर देउवालाई पराजित गर्नु भएको थियो ।
यसरी गिरिजा प्रसाद कोइराला लगातार तीन पटक कांग्रेस सभापति बने ।
बाह्रौँ महाधिवेशन
२०६७ साल असोज १ गतेदेखि ४ गतेसम्म भएको बाह्रौँ महाधिवेशनमा सुशील कोइराला सभापति हुनुभएको थियो । बाह्रौँ महाधिवेशनमा सभापति बन्नुभएका कोइरालाका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर देउवा हुनुहुन्थ्यो ।
तेह्रौं महाधिवेशन
२०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाण्डौमा भएको महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनु भएको थियो । तेह्रौँ महाधिवेशनमा तीन जना उम्मेदवार हुनुहुन्थ्यो ।
कांग्रेसको विधानमा सभापतिका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्ने व्यवस्था छ भने अधिक मत ल्याउने दुई प्रत्यासी बीच फेरि प्रतिस्पर्धा हुन्छ ।
अन्यले भने प्रतिस्पर्धामा भाग लिन पाउँदैनन् । त्यसै अनुरुप तेह्रौँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्नु भएका कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत ल्याएका कारण उहाँ दोस्रो चरणको मतदानमा उम्मेदवार हुन विधानले नदिएका कारण उहाँले वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । अन्ततः दोस्रो चरणमा भएको मतदानमा देउवाले रामचन्द्र पौडेललाई पराजित गरी सभापति बन्नु भएको थियो ।
चौधौमा पुनः देउवा
२०७८ मंसिर २४ गते शुरु भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पुनः निर्वाचित भए ।
पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७ सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गरेको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए ।
उनका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो ।