काठमाडौं । चिसो मौसममा स्वास्थ्यमा बिभिन्न समस्या देखिन सक्ने भएकाले यो समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूले सुझाब दिएका छन् ।
जुम्ला सहित हिमाली जिल्लाहरूमा हिउँ परेपछि भएको अत्यधिक चिसोका कारण नागरिकको जनजीवन प्रभावित भएको सिञ्जा नगरपालिका ६ का राम चन्द्र राउतले बताउनुभयो । वर्षा र हिउँका कारण हिमाली तथा पहाडी जिल्लामा चिसो बढेको छ भने तराइमा दिनभरी जसो नै हुस्सु लाग्ने गरेको छ ।
चिसोमा स्वास्थ्यको ख्याल नगरे रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, हाडजोर्नीको दुखाई, सुख्खा छाला हुने, पखाला लाग्ने, निमोनिया हुने तथा तापक्रम कम भएर हुने हाईपोथर्मिया लगायत मुटु रोग देखि हृदयघात समेत हुन सक्ने डाक्टर दिपेश शाक्यले बताउनुभयो । चिसोबाट बच्न न्यायो लुगा लगाउने, तातो तथा झोलिलो खानेकुरा खाने, तुलसी, अदुवा र मह राखेर तातोपानी पिउने गर्नुपर्छ ।
दाल, खिचडी, रेसादार साग–सब्जी, गेडागुडीको झोल बनाएर प्रसस्त खाने तथा नियमित शारिरिक व्यायाम गरेको खण्डमा चिसोबाट हुन सक्ने संभावित जोखिमबाट जोगिन सकिने डाक्टर शाक्यको सुझाब छ । बिहानको समयमा दैनिक १ देखि २ घण्टा घाममा बस्ने, तातोपानीले नुहाउने, सरसफाइ गर्ने, आफु सुत्ने ओछ्यान घाममा सुकाउने र सफा गरिरहने गरेको खण्डमा पनि चिसोबाट हुन सक्ने जोखिमबाट जोगिन सकिने डाक्टहरूको सुझाब छ ।