सिमकोट । देशले विभिन्न समयमा विभिन्न तन्त्रको शासन व्यवस्था पाएपनि सुन्दा अचम्म लाग्न सक्छ हुम्लाका नागरिकले चामल पाउन, चार घण्टाको पैदल तयगरि नागरिकताको फोटोकपी दिनुपर्ने अवस्था छ ।
खाद्य लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आज शुक्रबारबाट वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेड शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचय पत्र खुल्ने नेपाली नागरिकता प्रमाण पत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ ।
नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीय गणेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सधंै चालम लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झनझटिलो बनेको छ ।”
चामल पाउनका लागि लाइनमा बस्नु पर्ने बाध्यता छदैँछ फेरि अर्को झनझट नागरिकताको फोटोकपी बुझाउने पर्ने भएको छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीय जानकी भण्डारीले गुनासो पोख्नुभयो । आफुहरु सर्वसाधारणलाई दुःख मात्र दिन खोजेको भण्डारीले बताउनुभयो । गाउँबाट झण्डै चार घण्टाको पैदल हिँडेर लिमिटेड शाखा कार्यालय सिमकोटमा पुग्नु पर्ने बाध्यता समेत रहेको छ ।
चार केजी चामलका लागि यहाँ नागरीकले नागरीकता धरौटी राखे जस्तै भएको छ । सिमकोट गाउँपालिका वडा एक देखि आठसम्म बसै नागरीकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरीकता पेश गर्नुपर्छ ।
यता प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरीकहरु नदोहोरीउन र उनिहरुले चामल पाए नपाएको विवरण राख्नको लागि नागरीकता अनिवार्य गरेको बताउनुभयो । गाउँघरका सबै नागरीक चामल पाउनबाट कोही नछुटुन भन्नका लागि उनिहरुको नागरीकता माग गर्ने निर्णय भएको बताउनुभयो । नागरीकता अनिवार्य नगर्दा विचमा कोहीले दुई तिनवटा रासन कार्ड समेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको बताउनुभयो ।
तीन महिना पछि खाद्यान्न वितरण, एकजनालाई चार केजी
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण शुक्रबारबाट सुरु गरेको छ । तीन महिना पछि खाद्यन्न वितरण कार्य गरेको भएपनि एकजना व्यक्तिले चार केजी मात्रै चामल पाएका छन् ।
समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट बञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भएपनि समयमै चामल ढुवानी हुनस सकेको छैन । तीन महिना महिनापछि चामल वितरण गरेको भएपनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यन्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यन्न खरिद गर्नु परेको थियो ।
मनपरी खुल्छ लिमिटेडको खाद्य गोदाम
सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदान नियम विपरीत मनपरी खुल्दै आएको छ । खाद्य व्यवस्था समितीको बैठकले जन्म, मृत्यु र अतिआवश्यकका लागि हप्ताको एक शुक्रबार खोल्ने निर्णय गरेको छ । तर लिमिटेडले त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकुल चामल वितरण गरिहरेको छ । उक्त समितीले गोदामा चामल मौजाद बढी जम्म पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका वडा एक देखि आठसम्मका साथै बजारबासी र कर्मचारी वितरण गर्ने नियम बनाएको भएपनि यसको कुनै कार्यान्वय नभएको बताइएको छ ।
आन्दोलित बने सर्वसाधरण
लिमिटेड शाखाले आजबाट चामल वितरण गरेको भएपनि एक महिनाको पूरा पाउनुपर्ने मध्ये त्यसको आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका वडा नम्बर एक र दुईका स्थानीय आन्दोलित बनेका हुन् । तल्लो बजारमा रहेको लिमिटेडको शाखामा चामल खरिद गर्न छोडेर उनिहरु जिल्ला प्रशासन कार्यालयमा आएर चामल पुरा विरतण गर्न माग राख्दै आन्दोलमा गरेका थिए । सर्वसाधरण आक्रोशित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजउ भण्डारीले, प्रहरी नायव उपरीक्षक हेरम्भ शर्मा सर्वसाधारणका जानकार लगायतको टोली बसेर तीन महिना पछि वितरण भएपनि एक महिनाको खाद्यान्न यहाँका नागरिकले पाउनुपर्ने जति सबै वितरण गर्ने सहमति भएको हो ।
सीता एयरले ढुवानीमा ढिलाई गर्दा चामल अभाव
हुम्लाका लागि खाद्यनन ढुवानी गर्ने जिम्मा पाएको निजी सिता एयरले समयमै ढुवानी नगर्दा यहाँका नागरीक तीन महिनादेखि चामल पाउनबाट बन्चित बनेका हुन् । विगतका वर्षमा सिता, तारा र समिट एयरलाइन्स बसैले खाद्यन्न ढुवानी गर्दा यसरी अभाव झेल्नु परेको थिएन तर यो पटक सिता एयरले दैनिक ढुवानीमा वास्ता नगर्दा थप समस्या निम्तीएको हो । खाद्यले चालु आर्थिक वर्षमा हुम्लामा २७ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्ने भनेको छ । तर ढुवानीमा हुने वेवास्ताले तीन महिना बित्दासमेत उसले ढुवानी गरेको छैन ।
अहिले झण्डै १२ सय क्विइन्ट मात्रै चामल मौजाद रहेको लिमीटेड शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । त्यहि मौजाद रहेको चामल तीन महिना देखि नपाएका सर्वसाधरणलाई वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताउनुभयो । गत असोजपछि सर्वसाधरणका लागि बिक्री वितरण बन्द गरिएको बताए।
साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यन्नबाट बिक्री गरिएको थियो । शाखाबाट तीन हजारभन्दा बढी मासिक रुपमा खाद्यन्न पाउने ग्राहकहरु रहेका छन् । यहाँ नागरिकले तीन महिनाको चामल पाउनुपर्ने भएपनि एक महिनाको मात्रै पाएका छन् । तीन महिनादेखि सबै महिनाका चामल पाउने आशमा रहेका नागरिक एक महिनाको पाउँदा निराश बनेका छन् ।