काठमाडौं । काठमाडौँको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पुग्नुभएका काभ्रे धुलिखेलका कुमार पोखरेल र ललितपुर इमाडोलका पृथ्वी पुन मगर भेटिनुभयो ।
दुवै जना आफ्नो मोटरसाइकल अञ्चलीकरण गर्नको लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । पोखरेललाई मोटरसाइकल अञ्चलीकरण गर्न एक महिना लाग्यो, अव्यवस्थित र भीडभाड हुने कार्यालयमा समयमा काम हुँदैन । तर अलिकति रकम बिचौलियाको हातमा राखिदिने हो भने प्रक्रिया मिचेर पनि काम छिटै सकिन्छ । देशभर २६ वटा यातायात व्यवस्था कार्यालय छन् ।
नागरिक सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउन, सवारी दर्ता तथा नामसारी गर्न, कर तिर्न लगायतका काम लिएर कार्यालय पुग्छन् । तर चालक अनुमतिपत्र लाइसेन्स लिने बिषयमा सबैभन्दा धेरै अनियमितता हुने गरेको छ । ट्रायल दिने समयदेखि चालक अनुमति पत्र लिने सम्ममा बिचौलिया हाबी हुने गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा देशभरका यातायात कार्यालयबाट ७ लाख ४८ हजार ६ सय ९७ वटा स्मार्ट लाइसेन्स प्रिन्ट भएका छन् । जसमध्य बिचौलियाको माध्यमबाट लाइसेन्स लिने पनि उत्तिकै छन् । सरकारसँग बिचौलियाको माध्यमबाट बितरण हुने लाइसेन्सको विवरण छैन, तर यसरी हुने अनियमितता रोक्न पहल केही पहल भने भएको ललितपुर एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख सुनिता भट्टराईले बताए ।
अनियमितता रोक्नको लागि सम्पूर्ण काम अनलाइनको माध्यमबाट गर्ने तयारी भइरहेको यातायात व्यवस्था कार्यालय कास्कीका कार्यालय प्रमुख डिल्लीराम रिजालको भनाइ छ । विभिन्न काम गर्दिने प्रलोभनमा पारेर घुस खाएको आरोपमा यातायात व्यवस्था कार्यालयहरूबाट बेलाबेला बिचौलियाहरु प्रक्राउ पर्ने गरेका छन् । कार्यालयहरूमा विचौलिया हाबी हुने प्रवृति पूर्ण रुपमा रोक्ने काम योजनाबद्ध रुपमा भइरहेको दावी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको छ ।
बिचौलिया भनेर पक्राउ परेकाहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्धा लगाएर कारवाही गर्ने गरिएको भनिएपनि केही दिनपछि सजिलै छुट्नाले बिचौलियाहरू पटकपटक सक्रिय हुने गरेका छन् । जसका कारण यातायात क्षेत्रको अवस्था सुधार हुन सकेको छैन भने घुस खुवाउन नसक्ने सेवाग्राहीले सहज सेवा पाउन सकेका छैनन् ।