सुर्खेत । गठन भएको तीन महिना पछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।
सत्ता गठबन्धनले सिफारिस गरेका थप पाँच जना मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण सँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।
जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेको तीन महिनापछि प्रदेश सरकारले पूर्णता पाएको हो ।
आइतबार (आज) नै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लिने मन्त्रीहरुमा कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री रहेका छन् ।
माओवादीबाट मन्त्री बनेका कार्चेन लामा गैरसांसद हुन् । उनका विषयमा निकै विवाद भएको थियो । आज कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्री, हिमबहादुर शाही (आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।
माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बनेका छन । उनलाई भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो ।
समाजवादीबाट यसअघि चन्द्र बहादुर शाही भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १९:२८