दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।
गएराति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।
चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । मृत्यु हुनेहरुमा १३ वर्षिया साजिता खातुन, १५ वर्षिय हसन बकस, १३ वर्षिय मनिस बकस, ४० वर्षिय नजर दिव अली र ५ बर्षीया अवीददिन अली रहेका छन् ।
मृतक पाँचै जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उद्धारमा खटिएका एक जना घाईते भएका छन् । तुलसीपुर निवासी ३८ वर्षीय अमर डाँगी बहोस भएको र उनको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चार तले भवनमा आगलागी भएको हो ।
राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।