काठमाडौं । शुक्रवार बिहान ललितपुरको हात्तीवन स्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा केही सामान रहेको खबर प्रहरीलाई आयो। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नु स्वभाविक नै थियो।
त्यसपछि ललितपुर प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थाल्यो। बोरा खोलेर हेर्दा भित्र मूर्ति फेला पर्यो। प्लाष्टिकको बोरामा मूर्ति बेरेर छोडिएको रहेछ।
माघ ८ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको थियो। धार्मिक र पुरातात्त्विक हिसाबल महत्त्वपूर्ण मानिएको मूर्ति हराएपछि प्रहरीले सबै निकायमा परिपत्र गरेर यसबारे जानकारी गराएको थियो।
बालकुमारीबाट हराएको र हात्तीबनको मन्दिर पेटीमा भेटिएको मूर्ति एउटै भएको प्रमाणित भयो।
'बोरामा बेरेर कसैले छोडेको जस्तो अवस्थामा भेटिएको हो। पछि यकिन गर्दा माघ ८ गते बालकुमारी मन्दिरबाट हराएको मूर्ति भएको खुल्यो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले भने।
माघ ८ गते १२ बजेदेखि ४ बजेको अवधिमा मूर्ति चोरी भएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको थियो। माघ ८ गते बिहान पुजारीले पूजा गर्न जाँदा मूर्ति नदेखेपछि वडा अध्यक्षलाई सम्पर्क गरेका थिए।
मन्दिरको ताल्चा तोडेर मूर्ति चोरी भएको देखिएको थियो। मूर्ति चोरी भएपछि प्रहरीले सम्भावित मूर्तिको कारोबार हुने स्थानमा अपरेसन गरेको थियो।
नेपालबाट चोरिएका मूर्तिहरु विदेशमा बिक्री हुने गरेकाले प्रहरीले इन्टरपोल मार्फत् सुचना जारी गरेको थियो। हराएको मूर्ति फेला पर्नुको अर्थ, कसैले देश बाहिर लैजान वा बिक्री गर्न नसकेपछि त्यहाँ ल्याएर राखेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।
'हामीले मूर्ति खोजी गर्ने सबै संयन्त्र अपनाएका थियौं। कसैले छोडेर गएको हुनुपर्ने देखिन्छ,' एसपी शाहले भने।
त्यहाँसम्म कसले ल्याएर छोडेर गयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय उपत्यकामा मूर्ति चोरीका घटना बढिरहेको छ। केही साता अघि काठमाडौंको इचंगु र ललितपुरको हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो। यस प्रकरणमा अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन।
ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले भने केही मानिस प्रहरीको निगरानीमा रहेकाले अनुसन्धान भइरहेको जानकारी दिए। फेला परेको मूर्तिलाई आज बिहान महानगरीय प्रहरी परिसर ललितपुरले मन्दिर व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको छ। ऊर्जामन्त्री पम्फा फुसालको उपस्थितिमा प्रहरीले मूर्ति जिम्मा लगाएको हो। आजै पूजा अर्चनासहित मूर्ति मन्दिरमा स्थापन गरिएको छ।