सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकोटका एक युवाको मृत्यु भएपछि आफन्तले सुर्खेतमा आन्दोलन शुरु गरेका छन् ।
सुर्खेतको मंगलगडी चोक, विरेन्द्र चोकलगायतका क्षेत्रबाट आफन्तसहितका युवाहरुले आन्दोलन शुरु गरेका हुन् ।
नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्युले आक्रोसित बनेका युवाहरुले विभिन्न स्थानमा भएका सडक डिभाडर, प्रहरीका ड्युटी पोष्ट भत्काएर सडक बन्द गराउँदै हिडेका छन् ।
नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट आज सुर्खेतको एक अस्पतालमा मृत्यु भएको थियो । शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।
प्रहरीले निर्घात कुटेपछि हमालको मृत्यु भन्दै सडकमा उत्रिएका आफन्तले प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका छन् ।
‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको पछि उनको मृत्यु भएको बताइएको छ । गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेको मृतकका अंकल कलमबहादुर हमालले जानकारी दिए ।
हमाललाई उपचारको लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो,’ प्रहरी प्रवक्ता घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौं । अनुसन्धानपछि सवै खुल्नेछ ।’ अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् । सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ ।