बाजुरा । बाजुराका ७ वटा स्थानिय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जसमा दुई ओटा पालिका बुढिनन्दा र बुढिगङ्गा नगरपालिकाको मत परिणाम भने आउन बाँकी छ । बुढिनन्दामा मत गणना जारी छ भने बुढिगङ्गा नगरपालिकामा निर्वाचनको दिनमा भएको झडपका कारण मतगणना नै हुन सकेको छैन ।
पालिकामा पुनः मकतदान गर्नुपर्ने माग नेपाली काँग्रेसको छ भने मतगणना सुरु गर्नुपर्ने माग नेकपा एमालेको छ । हालसम्म मतगणना सम्पन्न भएका ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ भने ४ स्थानमा नेकपा एमालेले जित हात पारेको छ । स्वामिकार्तिक खापर गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली काँग्रेसले जित हात पारेको छ ।
काँग्रेसका भरत रोकायाले २ हजार ११ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा विजयी हुनुभएका काँग्रेसका मैना जोशीले १ हजार ८ सय १० मत ल्याउनुभएको छ । हिमाली गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्र बहादुर मल्ल २ हजार ३ सय ८४ मत ल्याएर विजयी हुनुभएको छ भने गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका राजकला सार्की २ हजार ३ सय ६७ मत ल्याएर विजयी हुनुभएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार कर्णबहादुर थापाले ४ हजार ७ सय ६१ मत ल्याएर विजयी हुनुभएको छ भने उप प्रमुखमा काँग्रेसका कमला जैशी न्यौपानेले ४ हजार ७ सय ४३ मतसहित विजयी हुनुभएको हो । जिल्लाको बडीमालिका नगरपालिकाको मेयरमा नेकपा एमालेकोे तर्फबाट उम्मेदवार बन्नुभएका अम्मर खड्काले ४ हजार १९ मत ल्याएर विजयी हुनुभएको छ भने उप–मेयर नेकपा एमालेकै नन्दा थापा ४२ सय ३३ मतसहित विजयी हुनुभएको छ ।
जगन्नाथ गाउँपालिकामा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका काली बहादुर शाही २३ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेका मरुकला विष्ट २१ सय १८ मतसहित विजयी हुनुभएको छ । खप्तड छेडेदह गाँउपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत ३७ सय ४७ मत ल्याएर विजयी हुनुभएको छ भने गाँउपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार विशुदेवी नाथ ३६ सय ४२ मत ल्याएर बिजयी हुनुभएको छ ।
जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिबहादुर रोकाया ३४ सय ३४ मतसहित विजयी हुनुभएको छ भने गाँउपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सीता थापा ३१ सय ९४ मतसहित विजयी हुनुभएको छ ।