अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक हुम्लाले आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यो वर्ष मानवअधिकार उलंघनका भन्दा ज्यादतिका घटनाहरुको संख्यामा वृद्धि भएको इन्सेकको अभिलेख प्रतिवेदन रिर्पोटले जनाएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि हुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उलंघन तथा ज्यादतिसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गर्ने क्रममा इन्सेकको अभिलेखमा विगतका वर्षहरु भन्दा यो वर्ष उक्त घटनाको सख्यामा वृद्धि भएको इन्सेकले जनाएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७८ पुस १७ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म करिव ६ महिनामा सङ्कलन गरिएका १६ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित दश ओटा, स्वास्थ्य तथा शिक्षाका अधिकारसँग सम्बन्धित एक ओटा, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौनदुव्र्यवहारका तीन ओटा, हत्याका एक ओटा र घरेलु हिंसाका एक ओटा घटना प्रस्तुत गरिएको थियो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले तथ्यमा आधारित भएर घटना सङ्कलन गर्दा उत्तम हुने बताइन् । यो वर्ष स्थानीय तहको निर्वाचनका कारण धेरै जसो राजनीतिक दलसँग सम्बन्धित घटना देखिएको प्रजिअ परियारको भनाई छ ।
उनले भनिन् हामी सबै मानव अधिकार रुक्षक हौ र सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गरेमा मानव अधिकार उलंघनका घटनाहरू कम हुने भएका छन् । इन्सेकले सङ्कलन गर्ने घटनामा छुवाछुत, जातीय विभेद जस्ता घटना अभिलेखीकरण गर्नुपर्ने सुझाव राखिन् ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटि हुम्लाका अध्यक्ष कल बहादुर हमालले हुम्लामा खाद्यान्न, स्वास्थ्य, शिक्षामा आएका समस्यालाई पनि समेट्दा राम्रो हुने बताए । उनले भने हुम्ला जिल्ला अस्पतालले रिफर गरेका विरामीले समेत टिकट नपाउनु, जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा आएका सेवाग्राहीले समयमै सेवा नपाउनु, सर्वसाधारणले भनेको समयमा खाद्यान्न नपाउनु, समयमै उपचार नपाएर जिल्ला बाहिर रिफर हुनु जस्ता विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने धाराण राखे ।
जिल्ला सरकारी वकिल पूर्ण प्रसाद केसीका अनुसार नेपालमा १५ प्रतिशत मुद्दा सरकारमा दर्ता भएका हुन्छन भने बाँकी ८५ प्रतिशत घटनाहरू बाहिर हुन्छन त्यसको पनि खोजी गर्नु इन्सेकको पहिलो दायित्व हो । जिल्लामा अन्य लुकेका जस्तै छाउपडी, बहुविवाह अन्य मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटनाहरू बाहिर ल्याउनु पर्ने जिल्ला अदालतका श्रेष्तेदार एवम् उपसचिव कमल कुमार आचार्यले बताए ।
हुम्लामा अधिकांश घटना गाउँमै मिलापत्र भएर सकिन्छन तर तिनिहरूको पनि इन्सेकले पहिचान गरेर प्रहरीलाई जानकारी दिनु इन्सेकको सकारात्मक पक्ष हो, बार एसोसियनका सचिव एवम् जिल्ला अदालतका वैतनिक वकिल राजन चन्दले बताइन् । समिक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी सीता परियारको प्रमुख आतिथ्यतामा सन्चालन भएको थियो ।