जुम्ला । डोल्पा पछिल्लो समय विकास र प्रविधिसँग जोडिन थालेपछि स्थानीयलाई सहज भएको छ ।
नेपालकै ठुलो जिल्ला रहेको डोल्पामा ८ स्थानीय तह छन् । जुम्लासँग सीमाना जोडिएको जगदुल्ला गाउँपालिका सडक सञ्जालमा जोडिएपछि पिठ्यूँमा नुन र चामलको भारी बोक्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् ।
जुम्ला–डोल्पा हुदै मनाङ मुस्ताङ जोड्ने सडक जगदुल्ला सम्म विस्तार गरिएको छ । यहि सडक कै कारण जगदुल्ला समृद्ध बन्दै छ । समुन्द्री सतहबाट ४ हजार मिटरको उचाईमा रहेको मौरिलेकमा १२ ओटा जति स–साना घरहरू छन् । वर्षाको झरी होस् कि हिउँदको जाडो, मौरीलेकका यिनै घरहरूले जुम्ला, डोल्पा र जाजरकोटका बटुवालाई ओत दिन्छन् । मौरी लेकको भिर छिचोलि जगदुल्ला गाउँपालिकाको केन्द्र हुदै अघि बढेको छ मनाङ–मुस्ताङ जोड्ने सडक । यहि सडकले जगदुल्ला बासीलाई १२ दिनको पैदल यात्रा गरी जाजरकोट पुगेर नुन चामल बोक्ने बाध्यता हटाएको छ । अहिले फोन कै भरमा सामान बस्तिबस्तीमा पुग्छ ।
जगदुल्ला गाउँपालिकाका नागरिकले २० वर्ष अघिसम्म १२ दिन हिँडेर जाजरकोटको सल्ली बजारबाट उपभोग्य सामान बोकेर ल्याउथे । जुम्ला सडक सञ्जालमा जोडिएपछि भने ३ दिन हिँडे पुग्थ्यो । तर, २ वर्षदेखि आगनमा नै गाडी आउँछ । गाउँलाई चाहिने सामान गाडीले बोकेर ल्याउँछ, अनि गाउँको उत्पादन पनि लैजान्छ । डोल्पाको काममारा हिमालको शितलतामा हुर्किएका जगदुल्लाबासी प्रकृतिकै कारण सम्पन्न छन्, दुःख पनि उत्तिकै छ । चार महिना हिँउसँगै बस्छन्, वर्षैभरि मौसम चिसो भइरहन्छ ।
जगदुल्लामा पाईने यार्सा, कटुकि, भुल्ते, सुमयो, सेतो चिनि जस्ता जडिबुटि सङ्कलन गरेरै यहाँका स्थानीयको जिविका चलिरहेको छ । प्रति यार्सा ५ सय रूपैंयाका दरले बिक्री हुन्छ । जडिबुटी बिक्रीमा पनि सडक र सवारी साधनले सहजता थपेको छ । ९ वटा गाउँ मिलेर बनेको जगदुल्ला गाउँपालिका ८३ दशमलव ३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । भूमिका हिसाबले फराकिलो यो पालिकाको जनसङ्ख्या छ जम्मा २ हजार २ सय । गाउँमा जनसङ्ख्या थोरै छ, तर मानिसहरू मिहनेत धेरै गर्छन् ।
जुम्लामा सडक पुगेको १४ वर्ष पछि डोल्पालीको निरन्तरको खबरदारीले जगदुल्ला सडक सञ्जालमा जोडिएको हो । नागरिक र जनप्रतिनिधिको संयुक्त प्रयासले डोल्पाले आफ्नो मुहार बदल्दै छ, सडकले विकासको अन्य मार्गहरू खोल्दै लगेको छ । सदियौंदेखिको दुःखले पनि नफेरिएको गाउँ र परिवेशमा सडक सञ्जाल पुगेको २ वर्षमा सकारात्मक परिवर्तन देखिन थालेपछि नागरिक हर्षित भएका छन् । विस्तारै डोल्पाको दुःख घट्दै गएको छ ।