काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद अर्थात् इदुल जोहा आज हर्षोल्लासका साथ मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्व मनाएको ७० औँ दिनमा बकर ईद मनाउने परम्परा रहेको छ । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने गरेका छन् भने एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइन्छ ।
बकर ईदको अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बकर ईदको अवसरमा शुभकामना दिँदै बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नुभयो ।
नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको भन्दै यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य रहेको राष्ट्रपतिको सन्देशमा भनिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बकर ईदको अवसरमा शुभकामना दिँदै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताउनुभयो । उहाँले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर ईदका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतले पनि शुभकामना दिनुभएको छ ।