काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनाी दिएको छ ।
ताइवान र दक्षिण चीन सागरलगायत विषयलाई लिएर दुवै देशका राष्ट्रपतिबीच वार्ता भएको छ । यस क्रममा दुवै देशका राष्ट्रपतिहरू प्रत्यक्षरुपमा भेटवार्ता गर्न सहमत भएका छन् । वार्ताको क्रममा ताइवान विवादबारे पनि दुई नेताबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस क्रममा ताइवानमा गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा 'आगोसँग नखेल्नु' चेतावनी दिएका थिए ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने तयारी भइरहेको समाचार आइरहँदा दुई देशका राष्ट्रपतिबीच वार्ता भएको हो । सीले पेलोसीको सम्भावित भ्रमणलाई लिएर आपत्ति जनाएका थिए । यदि पेलोसीले ताइवान भ्रमण गरेमा २५ वर्षपछि अमेरिकी उच्च अधिकारीको सबैभन्दा महत्त्वपूर्ण भ्रमण हुनेछ । यद्यपि पेलोसीको भ्रमण कहिले हुने वा नहुने भन्नेबारे बाइडेन प्रशासनबाट आधिकारिकरुपमा घोषणा भएको छैन ।
बिहीबार साँझ अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ नेता सीलाई भिडियो कल गरेका हुन् । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सीसँगको यो उनको पहिलो वार्ता पनि हो । उनीहरूबीच दुई घण्टा लामो फोनवार्ता भएको थियो ।
वार्ताको क्रममा सीले बाइडेनसमक्ष अमेरिकाले ुएक चीन नीतिु पालना गर्नुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । साथै ताइवानको विषयमा उनले कडारुपमा चिनियाँ धारणा राखेको चिनियाँ सरकारी समाचारमाध्यमले जनाएका छन् ।
ताइवानलाई लिएर चीन र अमेरिकाबीच लामो समयदेखि विवाद छ । ताइवानमा अमेरिकी गतिविधिलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो सुरक्षा क्षेत्रको रुपमा चिनाइरहँदा ताइवानले भने आफूलाई स्वतन्त्र देशको रुपमा चिनाउँदै आएको छ ।यसबीचमा चीनले पटक(पटक ताइवानको आकाशमा लडाकु विमान उडाउने गरेको छ ।