काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभरका नाग मन्दिर र घरघरमा नागको तस्बिर टाँसी पूजा गरी मनाइँदैछ।
आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता छ।
आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।
आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।
यसै अवसरमा गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन गोकर्णेश्वर मन्दिरलगायत विभिन्न मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।