सिमकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अिधकृत दक्कदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही लगायत चार जना विरुद्ध सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्याई गैरकानूनी लाभ वा हानि पुर्याएको भन्दै विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७६।०७७ का विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई योजना पारेर आर्थिक अनियमितता गरेको आरोपमा आयोगले कार्यकारी अधिकृत प्याकुरेल इन्जिनियर शाही, सव इन्जिनियर विनोद थापा र ठेकदार गणेश भण्डारी विरुद्ध आरोप पत्र दायर गरेको जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ को थलोहाल्नादेखि कल्खेसम्मको सडक र वडा नम्बर ४ को लौठीदेखि बिगोठीसम्मको निर्माणमा २१ लख ४७ हजार ४ सय ९२ रुपैयाँ ७३ पैशा रकम अनियमितता गरेको ठहर गर्दै सोही बराबरको बिगो मागदावी सहित आरोप पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
“उक्त सडक निर्माणमा ठेकदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम गरेको देखाई झट्टा विल बनाई बदनियतका साथ सरकारी रकम भुक्तानी दिई गाउँपालिकाका प्रशासकीय अधिकृत प्याकुरेल, इन्जिनियर शाही र सव–इन्जिनियर थापा विरुद्ध आरोप पत्र दर्ता भएको छ,” प्रवक्ता भण्डारीले भने, “उहाँहरु तिन जना विरुद्ध भूष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) को कसुर गरेको हुँदा निजहरुलाई बिगो रु. २१ लख ४७ हजार ४ सय ९२ रुपैयाँ ७३ पैशा कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम नैं बिगो असुल उपर हुन मागदावी लिइएको छ ।”
आयोगले उक्त सडकको कामको जिम्मा लिएका ठेकदार गणेश भण्डारीलाई पनि आरोप पत्रमा समावेश गरेको छ । सडक निर्माणमा निर्माण भएको सडक भन्दा बढि रकम भुक्तानी लिएको भन्दै सोही उक्त रकम असुल उपरको माग दावी गर्दै आरोप पत्र दायर भएको छ ।
यस्तो छ, आयोगको विज्ञप्ती