सिमकोट । साउने पुर्णीमाको रोन्क शुरु भएको छ । जिल्लाका अधिकांश गाउँ र वस्तीमा धुमधामक साथ मनाईने साउने पूर्णीमको धा (मेला) औपचारिक रुपमा शुरु भएको छ ।
पूर्णीको त्रिदशी (त्रयोदशी) तिथिबाट शुरु हुने साउने पूर्णीमको मेलामा जिल्लाभरका देवी देवताहरुको माडु र थानमा ठूलो धुईचो लाग्नुका साथै धामी नाच्ने, देवताको पुजा आज गर्ने र वोकाको बली दिने काम भैरहेको छ । मदानु, कालसील्लो र मष्टाको पुर्णीमाका रुपमा मानाईने साउन पूर्णीमाको चौथो दिन आज बिहानैं देखि जिल्लाका अधिकांश देवी देवताको माडुमा धाम (जात्रा) शुरु भएको हो ।
साउनपुर्णीमाको अवसरमा देवताको पुजाअर्चना गर्दा वर्षात हुने र वर्षे बाली राम्रो हुने पौराणीक मान्इता अनुसार आज बिहानै देखि रक्ते (वलि दिन मिल्ने देवता) देवताको माडुमा वलि दिने काम भैरहेको छ । माडुमा पुरुषहरुले धामी, डाँगरको पुजाआजामा सघाउन पुर्याउने र महिलाले शुभ लगनमा गाइने रैथाने गीत गाउने गरिरहेका छन् ।
जिल्ला सदरमुकाम सिमकोटको पाबाडा स्थित तिनधारमा रहेको कालसिल्ताको माडुमा आज बिहानै देखि धाम (जात्रा) शुरु भएको छ । दिनभर वलि चढाउने पुजाआजा गर्ने, वेलुका र रातभर माडुको परिसरमा धामी नाच नाच्ने मागल गीत गाउने सिमकोट वडा नम्बर ६ का वडा अध्यक्ष नन्नबहादुर रावतले जानकारी दिए । उनका अनुसार आज बिहानै देखि तीनधारमा धार्मिक जात्रा शुरु भएको छ । त्यस्तै सिमकोट तल्लो बजारको सिमकोट बहुमुखि क्याम्पसको छेवैमा रहेको माडुमा पनि पुजापाठको तयारी भैरहेको छ । माडुमा देवताको पुजाका लागि महिलाले टाटे (पुरी) पकाउने, पुरुष वलिका लागि बोका तयार पार्ने काममा लागेको सिमकोट ५ का वडा अध्यक्ष चिन रातवले जानकारी दिए ।
त्यस्तै सिमकोट १ र २ को ठेहेमा पनि बिहानै देखि रामपालको देवताको माडुमा पुजाआजाको तायरी भैरहेको छ । गाउँको सबैभन्दा ठूलो देवताका रुपमा चिनिने रामपालको माडु र गाउँमा भएका अन्य देवत ा बाणपालको माडुमा पनि देवताका धामी र डाँगर जम्मा भएर पुजाआजाको काम भैरहेको ठेहेबाट पत्रकार शुरेस परियारले जानकारी दिए ।
उता सिमकोट ७ को धारापोरीमा धारापोरीमा बुधबार परेको त्रिदशीको दिनदेखि मष्टादेव र कैलाश देवताको पुजापाठ गरि मनाइएको छ । गाउँका सबै घरपरिवारले साउने पूर्णीमाको त्रिदशीका दिन आफ्नो स्थानीय माडुमा पुजाआजा धामी नाच नाचेर मनाइरहेका छन् ।
जिल्लाको दक्षिण क्षेत्रको ताँजकोटको झडमाडुमा पनि बिहानै देखि पुजापाठ शुरु भएको छ । साविकको मदना गाविस र मैला गाविसका मदना र कैलास देवताका माडुहरुमा ठूलो पुजाआज चलिरहेको ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
अदानचुली गाउँपालिकामा पनि साउने पूर्णमाको रौनक निकै चलेको छ । कोरोनाको कहरका कारण गएका तीन वर्षमा खुलेर मनाउन नपाइएको साउने पूर्णीमा खुला रुपमाले मनाउन पाइने भएपछि पनि यो वर्ष जिल्लाभर बेग्लै प्रकारको रौनक शुरु भएको देखिन्छ ।
ठाउँ-ठाउँमा देउडा प्रतियोगिताको आयोजना
साउने पूर्णीमालाई जिल्लाकै ठूलो पर्वका रुपमा मनाउने भएपछि जिल्लाका विभिन्न स्थानमा खुला देउडा प्रतियोगिताको आयोजना गरिदैं छ ।
जिल्ला सदरमुकाम सिमकोटमा कर्णाली कलाकार संस्थाको आयोजनामा खुला देउडा प्रतियोसगताको आयोजना गरिएको छ । जिल्ला भित्र र बाहिरका देउडा कलाकारहरुको सहभागिता हुने प्रतियोगितामा प्रथमका लागि ५० हजार राशी पुरस्कार राखिएको आयोजक कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुर रावतले जानकारी दिए ।
“हामीले प्रतियोगितामा देउडा सम्राट भनेर चिनिने नेत्रराज शाही र देउडा गाइका हस्तना विसीलाई निमन्त्रणा गरेका छौं”, अध्यक्ष रावतले भने, “प्रतियोगितामा जिल्ला भत्रिका ठूला खेलाडीहरुको पनि उपस्थिती हुने सूचना हामीले पाएका छौं ।”
रावतका अनुसार सिमकोटको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा प्रथमका लागि ५० हजार, दोस्रोका लागि ३० हजार, तेस्रोका लागि २० हजार र सान्त्वनाका लागि १० हजार राशीको पुरस्कार राखिएको छ । प्रतियोगिता यहि साउन २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिता सञचालन गर्न सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक कर्णाली कलाकार संस्थाले जनाएको छ ।
यसैगरी सर्केघाड गाउँपालिकाको ७ रोडिकोटमा पनि देउडा प्रतियोगिताको आयोजना गरिएको छ । सर्केघार्ड ७ वडा र स्थानीय अगुवाहरुको आर्थिक सहयोगमा आयोजना गरिने देउडा प्रतियोगिता साउने पुर्णीमाको दिन अर्थात २७ र २८ गते सञ्चालन हुने स्थानीय देउडा खेलाडी अदानसिंह कार्कीले जानकारी दिए । देउडा खेलाडी धनबहादुर रोकाया र विपना भण्डारी आउने भनिएको उक्त प्रतियोगितामा जिल्लाका देउडा खेलाडी मनलाल जैशी, भानुभक्त जैशी, जसबहादुर शाही, आउसे विक, अदानसिंह कार्की लगायतका खेलाडी आउने भएका छन् ।
प्रतियोगितामा जिल्ला बाहिरबाट आउने खेलाडीहरुका लागि ७५ हजार राशीको पुरस्कार राखिएको छ भने जिल्ला भित्रका खेलाडीहरुका लागि ५० हजार राशीको पुरस्कार राखिएको छ । वडा कार्यालयको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय नागरिकहरुले पनि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको सर्केघाड ७ का वडा अध्यक्ष वलबहादुर खत्रिले जानकारी दिए ।
त्यस्तै जिल्लाको ताँजकोट, अदानचुली र चंखेली गाउँपालकामा पनि देउडा प्रतियोगिताको आयोजना स्थानीय स्तरमै गरेका खबर प्राप्त भएका छन् ।