सुर्खेत । स्वास्थ्य सेवा कार्यालय हुम्लाले खरिद गरेको एम्बुलेन्स अदानचुली गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
सडक सञ्जालमा जोडिएको अदानचुली गाउँपालिकाका बिरामीहरुलाई उपचरमा सहजता ल्याउन एम्वुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानमकारी दिए । एम्वुलेन्सको साँचो अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालयबाट हस्तान्तरण हुने वित्तिकै एम्बुलेन्स सेवा सञ्चालनमा आएको आदानचुली गाउँपालकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जानकारी दिए ।
हुम्लाको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न अझै दुई तिन वर्ष लाग्ने भएका कारण आफ्ना दुईवटा एम्बुलेन्स मध्ये एउटा एम्वुलेन्स अदानचुलीलाई हस्तान्त्रण गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताए । उनका अनुसार राखेर त्यतीकै खिया लाग्नु भन्दा प्रयोगमा ल्याउमा उत्तम हुने भएकाले अदानचुलीलाई हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्सले सडक सञ्जालमा जोडिएको अदानचुलीका बिरामीलाई औषधी उपचार गर्न जिल्ला अस्पताल टाढा भएको र सुर्खेत नेपालगञ्जमा आवतजावत गर्न सहज हुने विश्वाश अदानचुली गाउँपालिकाले गरेको छ ।
'अब हामीले आजकै मितिबाट बिरामीको सेवामा एम्बुलेन्सलाई प्रयोग गर्छौ', अदानचुली गाउँपालिका अध्यक्ष सिंहले भने, 'पालिकाका विभिन्न वस्तीमा भएका बिरामीलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा लिन र पालिकामा उपचार संभव नभएर रिफर गरिएका बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन एम्बुलेन्सले ठूलो सहयोग गर्ने छ ।'
एम्बुलेन्स सेवा सूचारु भएपछि अदानचुलीमा उपचार नपाएर ज्यान गुमाउनेको संख्यामा समेत कमी आउने अध्यक्ष सिंहले दावी गरे ।