सिमकोट । स्थानीय बालीको संकलन, ढुवानी र बजारिकणका लागि खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडबीच संझौता भएको छ ।
गाउँपालिका आठ वटा वडा र आसपासका गाउँहरुका स्थानीय किसानहरुले उत्पादन गरेका रैथानै बालीहरु, चिनो, कागुनो, फापर, जौ, उवा, सिमीको संकलन, बजारिकरण गर्न जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा संझौता भएको सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध)ले जानकारी दिए ।
‘सरकारले दिएको ढुवानी अनुदानमा हवाईजहाजमार्फत ढुवानी भएको चामलमा भरपर्दा रैथाने बालीहरुको उत्पादन निरन्तर घट्दै गएपछि गाउँपालिकाले जिल्लाका रैथाने बालीलाई जिल्ला बाहिर लैजान यस्तो संझौता गरेको हो,’ पालिका अध्यक्ष भण्डारीले भने, ‘गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधाआधा लगानीमा किसानको घरबाट रैथाने बालीहरुको संकलन, ढुवानी र नेपालगञ्ज काठमाडौंमा बजारिकरण गर्नेमा दुवै पक्षबीच सहमती भएको छ ।’
हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा भएको संझौता अनुसार गाउँपालिकाले पहिलो चरणमा चिनो, कागुनो, फापर कम्तीमा ५०।५० क्विण्टल र सिमीको हकमा ५० क्विण्टलभन्दा माथि संकलन गर्ने र सोही अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. ले बजरको व्यवस्था गर्ने सहमती भएको सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
नेपालको विद्यमान कृषि प्रर्णालीलाई व्यवसायिक, प्रतिष्प्रधात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउन र संघिय सरकारको आ.व. २०७९।८० को बजेट वक्तव्यको बुँदा नं. ४७ बमोजिम कर्णालीका रैथाने बाली जैविक खेतीको संरक्षण र विकास गर्नुका साथै कृषिको आधुनिककिकरण, विविधिकरण र विशिष्टिकरणका माध्यमबाट उथ्पादन, उत्पादकत्व वृद्धि, मूल्य श्रृंखला, गुणस्तरियता तथा बजारिकरणमा सहलगानी तथा सहकार्य गर्ने नीति अनुसार गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सहमती भएको बताएका कार्यकारी अधिकृत रोकायाले संझौता तत्कालै लागु हुने जानकारी दिए । उनका अनुसार रैथाने बालीको संकलन, ढुवानी र बजारिकरणका लागि गाउँपालिका र कम्पनी बीच गएको कार्तिक ३ गते संझौता भएको थियो । केन्द्रीय स्तरमा भएको संझौतालाई कार्यान्वयन गर्न जिल्लामा संकलन र ढुवानी गर्न कम्पनीको जिल्ला शाखासँग सम्झौता भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।