काठमाडौं । घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
बुधबार राति घटनालगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो । उनको शुक्रबार शल्यक्रिया गरिँदै छ । घाइते आमा ८६ वर्षीया हरिकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै बिहीबार दिउँसो निधन भएको छ ।
कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार भण्डारीको अनुहार, हात र गोडामा गरी ३० प्रतिशत जलन भएको छ । आमा हरिकलाको भने शरीरको ७० प्रतिशत जलन भएको थियो । उनलाई सुरुमा सिभिल अस्पताल लगिएकोमा पछि मात्रै कीर्तिपुर पुर्याइएको थियो ।
सांसद भण्डारीलाई १२ घन्टा उपचार गरेपछि कीर्तिपुर अस्पतालले विदेश लैजान सुझाव दिएको थियो । ‘हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’ अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले गरेको सिफारिसमा उल्लेख छ । उनको श्वासनलीमा तातो हावा र धुवाँले जलन भएको हुन सक्ने अस्पतालले जनाएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अस्पतालको सिफारिसमा सांसद भण्डारीलाई हवाईमार्गबाट मुम्बईस्थित नेसनल बन्र्स सेन्टर पठाइएको बताए । ‘डा. चन्द्र भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बन्र्स सेन्टरमा लगिएको छ,’ मुख्य सचिव पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले शुक्रबार मुम्बईमा भण्डारीको शल्यक्रिया हुने उल्लेख गरेका छन् । ‘बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले डा. चन्द्र भण्डारी दाइको स्वास्थ्य उपचार सुरु गरेको छ । शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे उहाँको शल्यक्रिया हुनेछ । उहाँसँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेका अनुसार उहाँको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्,’ सिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन् ।
भण्डारी गत प्रतिनिधिसभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए । घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय हरिकलाको निधनबाट अग्रज व्यक्तित्व गुमाएको पनि उल्लेख गरेको छ । साथै सांसद भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कीर्तिपुर अस्पतालले नेपालमा उपचार सहज नहुने भन्दै देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र लैजान सिफारिस गरेपछि सांसद भण्डारीले भने अस्वीकार गरेका थिए । स्वास्थ्य अवस्था बुुझ्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री पदम गिरीसँग भण्डारीले आफ्नो उपचार नेपालमै गर्न सांकेतिक रूपमा आग्रह गरेका थिए । भण्डारीलाई उद्धृत गर्दै मन्त्री गिरीले भने, ‘उहाँसँग सांकेतिक रूपमा सामान्य कुराकानी भयो । उहाँले उपचारका लागि भारत नजाने भन्दै यहीँ उपचार गराउन आग्रह गर्नुभयो ।’