सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।
गर्भवति र सुत्केरी महिलाहरुका लागि कोसेली झोला, स्थानिय उत्पादनको बजारिकरणका कार्यक्रम सार्वजनिक गरेको सिमकोटले परिक्षाको अघि विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसईई परीक्षामा ३.६ जीपीए ल्याएर एसईई पास गरेका विद्यार्थीलाई नगदसहितको सम्मान गर्ने गाउँपालिका अध्यक्ष विजय भण्डररी (प्रतिरोध)ले जानकारी दिए ।
‘गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने ध्येयले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रमको सार्वजनिक गरेको हौं’, अध्यक्ष भण्डारीले नेपालवोटसँग भने, ‘यसले एकातर्फ विद्यार्थीहरुलाई आन्तरिक प्रतिष्पर्धाका लागि प्रात्साहित गर्छ भने अर्कोतर्फ भविष्यमा पालिकालाई दक्ष जनशक्ति उत्पादन गर्नका समेत सहयोग पुगोस् भन्ने उद्देश्य हाम्रो छ ।’
पालिकाका ६ वटै विद्यालयका एसइईमा सफल नतिजा ल्याउने सफल विद्यार्थीलाई सम्मान गर्न सिमकोट गाउँपालिकाकाको कार्यापालिकाले नयाँ निणर्य गरेको सिमकोट गाउँपालिका निम्ति प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
‘गाउँपालिकाले त्यस्ता विद्यार्थीलाई नगद दश हजार रूपैयाँ र प्रमाणपत्रले प्रोत्साहन स्वरूप सम्मान गर्न तयारी गरेको छ, प्रमुख प्रशासकीय अधिकारी रोकायाले थपे ‘गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको प्रोत्साहन स्वरुप यो सम्मानको कार्यक्रम अघि सारेको हो ।’
त्यस्तै गरि वलभद्र आधारभूत विद्यालयको कक्षा ६ सम्म सञ्चालनको लागि अनुमति दिने र गाउँपालिकाले ०७९÷०८० को त्रैमासिक चैत २४ गते र चैत २६ गते सार्वजनिक सुनुवाई कार्यक्रम आयोजन गर्ने निणर्य गरेको छ । गाउँपालिकाले रलिङ गुम्बाको पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ ।