सिमकोट । ०७९ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको आवधिक निर्वाचन सम्पन्न भए, जसबाट वडा सदस्य, वडाध्यक्षदेखि पालिकाका प्रमुखरउपप्रमुख, मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म गरी करिब ३६ हजार जनप्रतिनिधि नागरिकको अभिमतबाट अनुमोदित गराएर २०७९ सालले आफूलाई इतिहाँसमा चुनावी वर्षका रुपमा स्थापित गरेर विदाई भएको छ । राजनीतिक रुपले सफल वर्षका रुपमा रहेपनि अर्थतन्त्र र अन्य हिसाबले यो वर्ष खासै सुखद वर्षका रुपमा रहेन ।
आजदेखि हामीबाट विदाई भएको विक्रम संवत २०७९ को प्रवेशले नेपाली राजनीति निर्वाचनमय बन्यो । हरेक पक्षबाट विश्व जगतलाई थिलथिलो बनाएको कोरोना भाइरसको महामारीबाट तंरिन खोजेकै बेला आएको ०७९ लाई निर्वाचनको माहोलले अन्तैसम्म छोडेन ।
संविधान सभा मार्फत बनेको संविधानले गरेको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको सरगर्मिका बीच आएको २०७९ ले दलीय धुर्बिकरणलाई अनुशरण मात्रै गरेन निर्वाचन परिणामले नेपाली समाज र राजनीतिलाई तरंगीत बनायो । संघीय लोकतान्त्रीक व्यवस्था सहितको संविधान मुताविक नागरिकको जीवनसँग जोडिएका वडा सदस्य, वडाध्यक्षदेखि पालिकाका प्रमुख र उपप्रमुख, मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म गरी ३६ हजार जनप्रतिनिधि नागरिकको अभिमतबाट अनुमोदित गर्ने वर्षका रुपमा ०७९ स्थापित भयो । २०७७ साल पुष ५ को प्रतिनिधि सभा विघटनको घटनाले दुई धुर्वमा विभक्त बनेको नेपालको राजनीतिमा देशको मुटु मानिने काठमाडौं, धरान र धनगढीसहितका पालिकाहरूमा स्वतन्त्र उम्मेदवारको अप्रत्यासित जित र प्रतिनिधिसभा निर्वाचनमा नवोदित दलहरूले पाएको जनमतले मूलधारका दलहरूको तीन दशक लामो इतिहाँसलाई चुनौती थप्यो । स्वतन्त्र उम्मेरदवार र गठनको ६ महिनामै केही दललाई लोकप्रीय मत दिएर मतदाताले दलीय गठबन्धनलाई समेत अस्विकार गर्ने वर्षका रुपमा पनि ०७९ रहन गयो ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनमा राजनीतिक दलको कार्यशैली, दलभित्रका गुट–उपगुटको अन्तरसंघर्ष, बेथिति र नेतृत्वको एकाधिकारविरुद्ध उभिएका स्वतन्त्र उम्मेदवारहरू बालेन्द्र शाह, हर्क साम्पाङ र गोपाल हमाल, मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशमा चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा थारू आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीले लामो इतिाहँस बोकेका दलहरुलाई बैधानिक चुनौती दिए ।
तीन तहकै चुनावमा सत्तामा रहेका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित पाँच दलले गठबन्धन बनाए । तैपनि स्पष्ट बहुमत जुटाउन सकेनन् । सात वटा दल मात्रै राष्ट्रिय दल बन्दा प्रतिनिधिसभामा भने १२ दलको प्रतिनिधित्व भयो । चुनावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा मतभेद हुँदा ११ पुसमा विभाजित भएको गठबन्धन दुई महिना नबित्दै राष्ट्रपति चुनावबाट फेरि एकढिक्का बन्यो । कांग्रेस–माओवादीसहित दस दलको गठबन्धनबाट २५ फागुनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भए । चुनावमा पाँच वर्ष स्थिर सरकारको वाचा गरे पनि चुनावपछि आफैं प्रधानमन्त्री नपाउने अवस्थामा कांग्रेससँगको गठबन्धन तोडेर ११ पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल महिना दिन नबित्दै पुरानै गठबन्धनतिर नजिकिन थाले ।
चुनाव सकिएको चार महिना मात्रै हुँदै छ, यति छोटो अवधिमै गठबन्धन बन्ने, भत्किने, फेरि नयाँ गठबन्धन बन्ने, विश्वासको मत दिने, फिर्ता लिने, २० दिनमै मन्त्रीहरू फेरिने, कोही सरकारमा जाने, कोही सरकारबाट फर्किने– यी दृश्यहरूले अब संसद्को पूरै कार्यकालभरि यस्तै राजनीतिक अस्थिरताको प्रवृत्ति भइराख्ने देखाइरहने निराशाजनक राजनीतिक व्यवस्था यहि वर्षले छोडेर गयो ।
उतारचढावमा अर्थतन्त्र
पुँजीगत खर्च र राजस्वको अवस्था नाजुक, अर्थतन्त्रका महत्वपूर्ण सूचकहरूमा दबाब र सरकारप्रति निजी क्षेत्रको टुटेको विश्वासमा सुधार नहुँदै बिदा भएपछि २०७९ साल अर्थतन्त्रका लागि सुखद रहेन ।
विदेशी मुद्रा सञ्चिति दबाबमा रहेकाले वर्षको सुरुदेखि नै नेपालको अर्थतन्त्र पनि श्रीलंकाजस्तै संकटमा जाने ठूलो त्रासका बीच यो वर्ष सकियो । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्सलगायत बाह्य सूचकमा सुधार आएपछि त्यो डर सकिएको छ । तर आन्तरिक अर्थतन्त्रमा देखिएको मन्दीले झनै डरलाग्दो अवस्थाको संकेत गरेर ०७९ हामीबाट बाहिरिएको छ ।
सरकारको राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था छ । बैंक तथा वित्तीय संस्थामा २ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिए पनि कर्जाको माग छैन । महँगो ब्याजदर र लगानीमैत्री वातावरण नभएको भन्दै उद्योगी व्यवसायीले कर्जा माग गरेका छैनन् । जब कि एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन् । अहिले सरकारी वित्त नाजुक रहँदा मुलुकमा आर्थिक गतिविधिमा सुस्तता आएको छ । यही अवस्थाबीच ०७९ ले बिदा लिएको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्ध सुमधुर बन्न नसक्दा नेपाली अर्थतन्त्रले थप समस्या थेग्यो । सुरुदेखि नै निकटतम बन्न नसकेको सम्बन्धमा अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट ल्याएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री शर्मा नै लागिपरेका समाचार बाहिरिएपछि सम्बन्त्रमा ठूलै चिरा र्पयो । ख्र्थमन्त्री गभर्नरलाई हटाउन कुनै कसुर बाँकी राखेनन् । तत्कालीन सरकारले गभर्नर अधिकारीलाई अयोग्य भन्दै निलम्बन नै र्गयो । तर मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी पुनः राष्ट्र बैंकमै फर्किए । त्यसयता औपचारिकताबाहेक दुवैबीच बोलचालसम्म पनि भएन ।
०७९ मै तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिहरूलाई बजेट निर्माण प्रक्रियामा सामेल गरेर करका दरहरू हेरफेर गरे । सीमित व्यापारिक घरानालाई लाभ हुने गरी विदेशी सेनेटरी प्याडको भन्सार घटाइयो । राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरेको लगानीको आयस्रोत नखोजिने व्यवस्था भए ।
नाजुक सरकारी वित्त
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३१ प्रतिशतले राजस्व वृद्धि गर्ने लक्ष्य सरकारले तय गरेको थियो । तर, आर्थिक वर्षको नौ महिनामा गत वर्षको भन्दा करिब ३० प्रतिशत कम मात्र राजस्व संकलन भएको छ ।
यो सोही अवधिमा सरकारले गरेको चालु खर्चभन्दा पनि कम हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बुधबारसम्म कुल ६ खर्ब ९७ अर्ब रुपैयाँ चालु खर्च भएको छ । सोही अवधिमा ५ खर्ब ९१ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यसरी हेर्दा राजस्व संकलनभन्दा चालु खर्च करिब १ अर्ब ६ अर्ब रुपैयाँले बढी छ । यो तथ्यांकले सरकारी आम्दानीले चालु खर्च धान्न पनि कठिन हुने देखिन्छ । पुँजीगत खर्चको अवस्था पनि दयनीय छ । बुधबारसम्म वार्षिक लक्ष्यको २७।१३ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।
साढे २ खर्बले बजेट घटाइएको वर्ष
०७९ मै सरकारले चालु आर्थिक वर्षको बजेटको आकार करिब साढे २ खर्ब ४४ अर्बले घटाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका थिए । निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा सीमित गरेका हुन् । अर्धवार्षिक समीक्षामार्फत यति ठूलो अंकमा बजेटको आकार घटाइएको यो पहिलो पटक हो ।
व्यापारिक साँठगाँठ
करका दरहरू हेरफेर गर्न अनधिकृत व्यक्तिसँग साँठगाँठ, निश्चित व्यापारिक घरानालाई धितोपत्र ब्रोकर, स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, बिमा कम्पनीलगायत विभिन्न क्षेत्रको लाइसेन्स वितरणको भरपुर प्रयासलगायत नीतिगत भ्रष्टाचारजस्ता चरम विकृति यस वर्षभरि नै भए । अर्थतन्त्रलाई ट्र्याकमा ल्याएर अघि बढाउन जे–जस्ता नीतिगत तथा संरचनागत अवरोध छन्, तिनलाई सुधार गरेर ठोस रूपमा समाधानको पहल पूर्वअर्थमन्त्री विष्णु पौडेलले थाले पनि काम सुरु नहुँदै उनी बाहिरिए । जसअनुसार बिमा समितिले लघुबिमाका नाममा सबै प्रदेशमा नयाँ लाइसेन्स वितरण गरिसकेको छ । यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन, विद्युत् उत्पादन, झ्याउ निकासी, बिक्रीवितरण र संकलनका लागि अनुमति दिन चलखेल ०७९ मा पनि भयो ।
दशकयताकै उच्च ब्याजदर
गत माघसम्ममा वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत छ । यो एक दशकअघिकै बराबर हो । ०६९ असारमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो । यस अवधिमा कर्जाको ब्याजदर घटेर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको बैंकिङ प्रणालीमा गत मंगलबारसम्म कुल निक्षेप ५४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो महिना साउन देखि यही चैत तेस्रो सातासम्म बैंक तथा वित्तीय संस्थामा २ सय ७१ अर्ब रुपैयाँ कुन निक्षेप थपिएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाका गतिविधिविरुद्धका आन्दोलनले पनि ०७९ मै उग्र रूप लिए ।
घरजग्गा कारोबारमा मन्दी
०७९ साल घरजग्गा क्षेत्रका लागि पनि सुखद् रहेन । तरलताको अभाव भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा रोकेसँगै सुरु भएको घरजग्गा कारोबारको सुस्तता पछिल्ला महिनाहरूमा झन्झन् बढ्दै गएको छ । चालु आर्थिक वर्षको ९ महिनामा घरजग्गा कारोबारमा करिब ६० प्रतिशतले गिरावट आएको निजी क्षेत्रका छाता संगठनहरूले गरेको सर्वेक्षणले देखाएको छ ।
ग्रे लिस्टमा पर्ने जोखिम
वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानुन नबन्दा र बनेका कानुन प्रभावकारी कार्यान्वयन नहुँदा नेपाल ‘ग्रे लिस्ट’ (नकारात्मक सूची) मा पर्ने उच्च सम्भावना पनि ०७९ मै देखिएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह –एपीजी) ले नेपाललाई यो सूचीमा राख्न सुझाइएको प्रारम्भिक प्रतिवेदन ०७९ मै दिएको हो ।
विदेशी लगानी ऋणात्मक
प्रत्यक्ष विदेशी लगानी (एफडीआई) का हिसाबले पनि ०७९ सुखद् रहेन । उक्त अवधिका प्रायः सबै महिना खुद विदेशी लगानी ऋणात्मक छ । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) सम्ममा नेपालमा कुल १ अर्ब १७ करोड रुपैयाँ मात्र खुद प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । रेमिट्यान्स आप्रवाहका हिसाबले ०७९ को नेपालका लागि निकै सुखद् रह्यो । जसअनुसार चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत् ७ खर्ब ९४ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २५.३ प्रतिशतले बढेको हो ।
सेयर बजारमा खर्बौ गुम्यो
सेयर बजारका हिसाबले ०७९ निकै निराशाजनक रहयो । सेयरधनीको सम्पत्तिको मूल्य करिब सवा १६ खर्ब रुपैयाँले घट्यो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम थियो । बुधबार ९यही चैत २९० सम्म आइपुग्दा यो २८ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ । गत वर्षको भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ९३ हजार १ सय ९९ बिन्दुमा थियो । अहिले नेप्से करिब ४० प्रतिशतले घटिसकेको छ । बुधबारसम्म नेप्से परिसूचक १ हजार ९ सय ६३ बिन्दुमा बन्द भएको छ । यो हालसम्मको उच्च बिन्दु ३ हजार १ सय ९९ अंकको तुलनामा १ हजार २ सय ३६ अंकले कम हो ।
डिजिटल अर्थतन्त्रमा नयाँ रकर्ड
वि.सं. ०७९ साल डिजिटल अर्थतन्त्रका हिसाबले नयाँ रेकर्ड कायम गर्ने वर्षका रुपमा स्थापित रहयो । कोभिड महामारीयता नेपालको अर्थ–प्रविधि क्षेत्र र विशेषतः विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारमा उल्लेखनीय विस्तार देखिएको छ । नियामक नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि विद्युतीय भुक्तानी प्रणालीका प्रयोगकर्ता र कारोबार ह्वात्तै बढिरहेको देखाउँछ । बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार माघसम्ममा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोडभन्दा बढी छन् भने इन्टरनेट बैंकिङमा जोडिएकाहरूको संख्या १७ लाख ६४ हजार छ । कनेक्ट आईपीएसका ग्राहक करिब १० लाख छन । साथै, साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मोबाइल बैंकिङको कारोबार १ खर्ब ९२ अर्ब ८२ हजार रुपैयाँ छ ।
इन्टरनेट बैंकिङको कारोबार १३ अर्ब ८६ करोड र वालेटबाट गरिने कारोबार १८ अर्ब १५ करोड छ भने क्यूआरबाट हुने कारोबार २० अर्ब ७७ करोड छ । सबैभन्दा धेरै कनेक्ट आईपीएसबाट ३ खर्ब ४० अर्बको कारोबार भएको देखिन्छ । डिजिटल नेपाल अवधारणा सार्वजनिक गरिएको वर्ष २०७६ को माघमा मोबाइल बैंकिङका प्रयोगकर्ता ९८ लाख थिए भने इन्टरनेट बैंकिङमा जोडिएकाहरूको संख्या ९ लाख ६९ हजार मात्र थियो । ‘क्यूआरमा आधारित भुक्तानीको तथ्यांक २०७८ को फागुनमा २३ लाख, २०७९ को माघमा ५७ लाख र फागुनमा ६७ लाख पुगेको छ । फोनपेकै क्यूआर मर्चेन्ट ११ लाख पुगिसकेको छ । कोभिडताका जम्मा डेढ लाखजति फोनपेको क्युआर पसलहरूमा चल्थ्यो ।
‘वित्तीय कारोबारमा प्रविधिको प्रयोग उल्लेख्य मात्रामा बढेको देखेपछि राष्ट्र बैंकले यो वर्ष जिल्ला–जिल्लामा डिजिटल वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू गरेको थियो । तसर्थ २०७९ लाई डिजिटल अर्थतन्त्रको उल्लेख्य विस्तार भएको वर्षका रूपमा लिइएको छ ।
मन्दीको मार प्रविधि उद्यम
कोभिड महामारीका कारण प्रविधि क्षेत्रमा बढेको लगानी र अवसरको आकर्षण बढ्दो आर्थिक मन्दीका कारण घट्दै गएपछि सिलिकन भ्याली र अन्य क्षेत्रका प्रविधि कम्पनीहरूले यसपालि ठूलो संख्यामा कर्मचारी कटौती गरेको देखियो । क्रन्चबेस न्युज डेलीमा प्रकाशित एक रिपोर्टका अनुसार २०२३ को पहिलो सातामै अमेरिकाका ३० वटा टेक कम्पनीले २१ हजारभन्दा बढी कर्मचारीलाई अवकाश दिएका थिए ।
त्यसरी अवकाश दिनेमा बाइजुज, मेटा, ट्वीटर, अमेजन, माइक्रोसफ्ट, लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए । फोब्र्सले प्रकाशित गरेको अर्बपतिको सूचीअनुसार प्रविधि उद्यमीले यसपालि निकै गुमाए । प्रविधि क्षेत्रमा आबद्ध भएर अर्बपतिको सूचीमा परेका ३१३ जनाको समग्र कुल सम्पत्ति पोहोर २१ खर्ब डलर रहेकामा यसपालि २ खर्बले घटेर १९ खर्ब डलरमा झरेको छ । गएको एक वर्षमा विश्व डिजिटल अर्थतन्त्रमा देखिएको उल्लेखनीय अर्को पाटो भनेको आर्टिफिसियल इन्टेलिजेन्समा बढेको लगानी हो । आजभन्दा ५ महिनाअघि ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएयता गुगल, माइक्रोसफ्टजस्ता टेक जायन्टहरूले पनि लार्ज ल्यांग्वेज मोडलमा ठूलो लगानीको घोषणा गरिसकेका छन् ।
खेल क्षेत्रले जगाएको आशा
राजनीति र बित्तिय हिसाबले ०७९ सालले निरासा छाडेर गएपनि खेल क्षेत्रले भने केहि आशाका किरण छायो । कारोना भाइरसल बिथोलिएको नेपाली खेल क्षेत्र एकपछि अर्को प्रतियोगिता भएर स्वाभाविक लयमा फर्कियो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपालको उल्लेखनीय सहभागिता रह्यो । वर्ष ०७९ लाई नेपाली खेलकुदले फर्केर हेर्दा यसको सबैभन्दा ठूलो विशेषता यही रह्यो, खेलाडीले खेल्न पाए । र, यो वर्षलाई सम्झिने मुख्य कारण भने क्रिकेटमा नेपालको चमत्कारी प्रदर्शन रह्यो ।
आईसीसी क्रिकेट वल्र्डकप २०१९–२०२३ को चार वर्षको चक्र काठमाडौं कीर्तिपुरको क्रिकेट मैदानमा टुंगियो । प्रतियोगिताको अन्त्यसम्म पुग्दा पनि नेपालसामु वान डे मान्यता खोसिने डर थियो । नेपालले आफूले खेलेका अन्तिम १२ खेलमध्ये ११ मा जित निकाल्यो र वान डे विश्वकपको ग्लोबल छनोटमा छनोट भयो ।
युवा रोहित कुमारको नेतृत्वमा नेपालको प्रदर्शनलाई समग्र क्रिकेट इतिहासकै सबैभन्दा अविश्वनीय पुनरागमन मात्रै मानिएन यस्तो प्रदर्शनलाई दुर्लभ मानिएको छ । पीएनजी र यूएई सम्मिलित अन्तिम शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो र एकपछि अर्को खेलमा ब्याटिङ बलिङ दुवै उत्कृष्ट रह्यो । यूएईविरुद्ध अन्तिम खेलमा प्राप्त जित त अति नै नाटकीय रह्यो । यसमा नेपाल डकवर्थ लेविस नियममा अचम्मले विजयी रह्यो । लगत्तै अर्को खुसीको समाचार पनि आयो, नेपाल यू–१९ विश्वकपका लागि छनोट पनि भयो । त्यसअघि नेपालमाथि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को निलम्बन पनि फुकुवा भयो । नेपाल वुमेन्सकै यू–१५ कै उपाधि जित्न पनि सफल रह्यो । वर्ष ०७९ को घरेलु खेलकुद निकै व्यस्त रहनुको कारण पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद रह्यो । गण्डकी प्रदेशमा भएको राष्ट्रिय खेलकुदमा आर्मी १ सय ७२ स्वर्णसहित शीर्ष स्थानमा रह्यो र टिम च्याम्पियन बन्यो, त्यसपछि पुलिस र एपीएफ नै रहे । प्रतियोगिताको अव्यवस्थित ढंगले आयोजना भएकोमा त्यसको चर्को आलोचना पनि भयो । यद्यपि नेपाली खेल क्षेत्रमा सबै खुसीकै समाचार मात्र रहेनन् । सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लाग्यो र लामो कानुनी प्रक्रिया सुरु भयो । अनि नेपाल ट्वान्टी ट्वान्टी आयोजना त भयो, तर यो खेल मिलोमताको काण्डमा फस्यो ।
राजनीति अर्थतन्त्र, वित्तिय क्षेत्र, प्रविधि, क्षेत्रमा देखिएका निराशालाई कम गर्दै खेल क्षेत्रले देखाएका आशाका किरण झैं नयाँ वर्ष २०८० ले समृद्ध नेपालको परिकल्पनालाई साहाकार बनाउन उल्लेख्य भूमिका खेल्नेछ । नयाँ वर्ष २०८० को सबैमा शुभकामना ।