काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले विभिन्न ७ जनाका सन्दर्भमा प्रतिवादीहरुले बयान दिए पनि प्रमाण जुट्न नसकेको भन्दै उनीहरुलाई जुनसूकै समयमा पक्राउ गर्न सकिने जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणमा फरार व्यक्तिहरुको नामावली समेत सार्वजनिक भएको छ । प्रहरी स्रातले नेपालवोटलाई दिइएको जानकारी अनुसार फरारको सूचीमा १४ जनाको नाम उल्लेख गरेको सूचना प्राप्त भएको छ।
अन्य दुई जनाको भने नाम उपलब्ध गराइएको छैन। स्रोतका अनुसार अन्य दुई जना हाइप्रोफाइल व्यक्ति रहेका छन्। यी व्यक्तिहरुविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष रहेको छ।
फरार हुनेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि रहेका छन्।
यसैगरी फरार हुनेमा केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी, प्रतीक थापा र निरज राई।