सिमकोट । जिल्लामा चौथो पटक हिमपात हुँदा यहाँका किसान खुसी भएका छन् ।
खडेरी हुनेको होकी भनी चिन्तामा रहेका विशेष गरी दक्षिण भेगका किसानलाई राहत मिलेको छ । हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लाग्ने भएको बताइएको छ । माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा यहाँका किसानले विश्वास व्यक्त गरेका छन् । बिहीबार दिउँसोदेखि परेको हिउँले किसानमा खुसी छाएको छ । मंसिर महिनामा खेतमा बोएको गहुँ, जौ र उवा बालीलाई राम्रो हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।
विशेष गरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन रायाका किसान जैधन टमटाले बताउनुभयो ।
आजकल परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । विगतका वर्षहरुमा यो भन्दा बढी हिमपात हुने भएपनि दुई, तीन वर्ष यतादेखि हिउँ कम पर्ने गरेको हुम्लीको भनाई छ । जिल्लामा जती बढी हिमपात र वर्षा भयो उत्ती नै जेठासी र कात्तिके बालीलाई राम्रो हुने किसान बताउँछन् । माघ महिनाको वर्षा र हिमपातले खेतीपाती र बालीमा राम्रो हुने उहीहरु बताउँछन् । सुख्खा जमिनमा छरिएको जौ, गहुँ र उवा राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकहरू बताउँछन् ।
स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् । यो समय खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय मानिन्छ । समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर लगाउने तयारी किसानहरूले गरिरहेका छन् । हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।