सिमकोट । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस हुम्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
नेकपा (एमाले) को प्रेस संगठन चौतारीले देशभर विभिन्न कार्यक्रमको आयोजना गरिरहदा हुम्ला जिल्ला कमिटिले पनि संगठनमा कार्यरत दुईजना पत्रकारलाई सम्मान गर्दै मनाएको छ ।
एमाले हुम्लाको पार्टी कार्यालय समेत रहेको मनमोहन स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा भर्खरै प्रेस चौतारीबाट केन्द्रीय सदस्यमा मनोनित वरिष्ठ पत्रकार रमेश ऐडीलाई सम्मान गरिएको छ । कार्यक्रममा भर्खरै एकिकृत समाजवादी प्रेस संगठनबाट चौतारीमा प्रवेश गरेका मिमसिंह नेपालीलाई चौतारीमा औपचारिक स्वागत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंहले जानकारी दिए ।
प्रेस चौतारी नेपालमा रहेर लामो समय योगदान गरेको भन्दै केन्द्रीय सदस्इ ऐडीलाई एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । यसैगरी नेपालीलाई चौतारीका अध्यक्ष सिंहले अबिर र खादा लगाएर स्वागत गर्नु भएको प्रेस चौतारी हुम्लाका सचिव दाने बाहेराले जानकारी दिए ।
कार्यक्रममा एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले पत्रकारले पटक–पटक मर्नु परेपनि शाहस र हिम्मतका साथ स्वतन्त्र तरिकाले कमल चलाउनु पर्ने सुझाव दिए । ‘हुम्लामा पत्रकारदेखि नेता होइन्, नेता देखि विभिन्न सांगठनिक पत्रकारहरु डराउने अवस्था छ,’ उपाध्यक्ष शाहीले भने, ‘जिल्लाका व्यथिती, विकृति विसंगती, विकास खाने प्रवृतीका विरुद्धमा आवाज उठाउँदै हुम्लाको समाज रुपान्तरणका लागि कलम चलाउन जिल्लामा कार्यरत सञ्चारकर्मीले डर नमानेर अघि बढ्नु पर्छ ।’
कार्यक्रममा एमाले जिल्ला उप–सचिव प्रताब लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बोहरा, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, प्रेस युनियनका जिल्ला उपध्यक्ष छपाल लामा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष तिलसरा विक लगायतले स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गरेका थिए ।
२०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारी नेपालले हरेक माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।