सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ लेक मालारानीमा विद्युतका पोल गाड्ने ठेक्काको काम स्थानीयले जनश्रमदानबाट सम्पन्न गरेका छन् । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरण वितरण शाखा सुर्खेतले ठेक्का दिएको भए पनि स्थानीयलाई जनश्रमदानबाट काम गराएको हो ।
वीरेन्द्रनगर–६, सुर्खेतको प्रकाश निर्माण सेवाले विद्यतका पोल गाड्ने कामको ठेक्का लिएको भए पनि स्थानीयलाई पोल विद्युत प्राधिकरणले दिएर निःशुल्क काम गर्नुपर्ने भन्दै जनश्रमदानबाट ५५ पोल गाड्न लगाइएको थियो ।
गत आर्थिक वर्षको साउन महिनामा मालारानी गाउँका १८ जनाले ३०÷३० दिन काम गरेको र उक्त काम वापतको रकम अहिलेसम्म पनि नपाएको स्थानीय सुकाराम डाँगीले बताए । ‘पहिला हामीलाई पोल ल्याएका छौं । जनश्रमदानबाट काम गर्नुपर्छ । नत्र भने पोल अन्त जान्छन् भनेर भनेका कारणले गाउँमा विद्युत पुग्ने आशाले पोल गाड्यौं ।’ उनले भने, ‘गाउँमा विद्युतको लाइन नआएपछि अहिले बल्ल त्यो काम ठेकेदारमार्फत भएको रहेछ ।’
स्थानीय कांग्रेस नेता कुलबहादुर सिंहले मालारानी गाउँका स्थानीयलाई कांग्रेसको पहलमा पोल आएको र विद्युत बाल्ने भए खाल्डा आफैं खनेर विद्युतको पोल र तार तान्न लगाएको स्थानीयहरु बताउँछन् ।
गाउँमा पोल र तार गाडेको ११ महिना पुग्दा पनि विद्युत नबलेका कारणले स्थानीयले खोजी गर्दा ठेक्कामार्फत योजना रहेको थाहा भएको स्थानीय मेयरसिंह ओलीले बताए । ‘लामो समयसम्म पनि गाउँमा विद्युत नबलेका कारण खोजी गर्दै जाँदा ठेक्काको योजना रहेको पत्ता पायौं ।’ उनले भने, ‘हामीलाई ठेकेदारमार्फत भएको कामलाई झुटो बोलेर ठगियो ।’
ठेक्कामार्फत भएको कामलाई सोझा गाउँलेलाई जनश्रमदान गर्न लगाएर विद्युत प्राधिकरण, ठेकेदारहरुले ठगेको कानूनी उपचारका प्रयास जारी रहेको स्थानीय नागरिक समाजका अगुवा निर्देश ओलीले बताए । ‘स्थानीयले काम गरेको पैसा दिलाउनका लागि अहिले हामी कानूनी उपचार खोजिरहेका छौं ।’ उनले भने, ‘विद्युत प्राधिकरण सुर्खेत शाखा कार्यालयले तपाईको काम गरेको आधार के हो भन्छ ?’
ठेकेदारमार्फत भएको कामको कामदारले अनिवार्य पैसा पाउनुपर्ने ओलीले बताए । ‘ठेकेदारमार्फत भएको कामको कामदारले ज्याला पाउनुपर्छ ।’ उनले भने, ‘स्थानीयलाई प्राधिकरणको कार्यालय र ठेकेदारहरुले ठगेका छन् ।’ प्राधिकरणको कार्यालय भन्छ, ‘उहाँहरुले काम गरेको आधार के हो ?’
विद्युत प्राधिकरण वितरण शाखा कार्यालय सुर्खेतका अनुसार कोटखोलादेखि मालारानीसम्म विद्यतको पोल गाड्ने ठेक्का प्रकाश निर्माण सेवाले लिएको र कामदारहरुले ज्याला पाए वा नपाएको विषयमा कार्यालयलाई जानकारी नभएको जनाएको छ । विद्यतका पोल गाड्ने र तारको लाइन तान्ने जिम्मा प्रकाश निर्माण सेवाले लिएको र कामदारले कसरी काम गरे भन्ने विषयमा आफूलाई जानकारी नभएको विद्युत प्राधिकरण वितरण शाखा कार्यालय सुर्खेतका सहायक प्रबन्धक टंकराज गिरीले बताए । ‘कामदारले कसरी काम गरे त्यसको जिम्मेवारी हाम्रो हुदैन ।’ उनले भने, ‘कार्यालयले ठेक्कामा दिएको काम कसरी निःशुल्क भयो जानकारी भएन ।’
ठेकेदारलाई कसरी ठेक्का दिएको थियो भन्ने विषयमा जानकारी लिन खोज्दा कार्यालय प्रमुख गिरीले पुरानो फाइल भएका कारणले अहिले आफूसँग उपलब्ध नभएको बताए । ‘ठेक्का गत आर्थिक वर्षको हो । अहिले कुनै पनि कागजजात हामीसँग छैनन् ।’ उनले भने, ‘कार्यालयसँगसरोकार राख्ने बिषय पनि हैन ।’ विद्युत प्राधिकरण वितरण शाखा कार्यालय जहरेका कार्यालय प्रमुख किरण कँडेलले मालारानीमा विद्युतका पोल र तार जडानका लागि विद्युत प्राधिकरण वितरण शाखा कार्यालय सुर्खेतले ठेक्का दिएको रकम अन्य विषयमा सुर्खेतमा जानकारी रहेको बताए ।
कार्यालय कर्मचारीको नै मिलेमतो
मालारानीमा विद्युतका पोल तथा तार जडानका लागि विद्युत प्राधिकरण वितरण शाखा कार्यालय जहरेको तत्कालीन मिटर रिडर रामचन्द्र पौडेलले नै काम गर्ने जिम्मेवारी लिएको प्रकाश निर्माण सेवाले जनाएको छ ।
मिटर रिडर पौडेलले मालारानीमा विद्युत जडानका केही काम पूरा हुन बाँकी रहेको र कामदारको ज्याला स्वरुप २७ हजार रुपैयाँ दिएको बताए । स्थानीयका अनुसार ५५ पोल गाडेको, तार जडान गरेको र सडकबाट बोकेको करिब तीन लाख ९९ हजार हुने बताएका छन् ।
कर्णालीपत्र