पूर्ण पी राई
काठमाडौं । देशभरका विद्यालयको वार्षिक पात्रोमा सरस्वती पूजालाई विशेष महत्वका साथ राखिएको हुन्छ।
श्रीपञ्चमी पनि भनिने वसन्त पञ्चमीको दिन शैक्षिक संस्थाहरुमा ठूलो तामझम गरी सरस्वती पूजा गरिन्छ। कलेजहरुमा भन्दा विद्यालयहरुमै बढी रौनक हुन्छ। हप्ता दिनअघिदेखि विद्यालयलाई झकिझकाउ सिँगारिन्छ। धेरै विद्यालयले परिसरमै सरस्वतीका मन्दिर बनाएका छन्। नभए मूर्ति किनेर अस्थायी मन्दिर बनाइन्छ।
सरस्वती पूजाका लागि कक्षा अनुसार तोकेरै विद्यार्थीबाट रकम उठाइन्छ। त्यसबाहेक देवीको नाममा चढाउने भेटी र फलपूmल समेत लिएर बिहानै उपस्थित हुन विद्यार्थीलाई उर्दी गरिन्छ। विद्यार्थीलाई चाहिएको रमाइलो न हो, उत्साहित हुन्छन्। विद्यार्थीबाट उठेको रकमबाट किनिएको मिठाई प्रसाद खान शिक्षक शिक्षिकाहरु कक्षाकोठामा भन्दा दोब्बर उत्साहित देखिन्छन्। नाचगानको रमाइलो पनि हुन्छ।
भोलिपल्ट पूजा सेलाउने काम उसैगरी धूमधामका साथ हुन्छ। शिक्षक विद्यार्थीको लावालस्कर सरस्वती देवीको जयजयकार गर्दै नदी, खोला वा पोखरीतिर जान्छन्। पूजाको क्रममा फोहोर भएको स्कुल क्षेत्र सफाइ गर्ने जिम्मेवारी विद्यार्थीकै हुन्छ। अधिकांश विद्यालयमा चार दिनसम्म पढाइमा बाधा पुग्छस पहिलो दिन व्यवस्थापन तयारी, दोस्रो दिन विद्यालय र मन्दिरको सजावट, तेस्रो दिन पूजा तथा चौथो दिन पूजा सेलाउने र सरसफाइ। सरकारी विद्यालयमा पूजाको हिसाबकिताबमा तलमाथि भए केही दिनसम्म वादविवाद र घोचपेच चल्छ। निजी स्कुलमा भने सञ्चालक नै सर्वेसर्वा हुने र व्यापार पनि मिसिएको हुँदा यो विषयले प्रवेश पाउँदैन।
साधना कि स्तुति ?
ज्ञान र सीप प्राप्तिको प्रमुख माध्यम साधना हो। यसका लागि उत्प्रेरणा प्रमुख सर्त हो। विद्यार्थीलाई सिक्न उत्प्रेरित गर्नुपर्छ। त्यसका लागि शिक्षक उत्प्रेरक बन्नैपर्छ। तर, सरस्वती पूजा भनेको स्तुति हो। विद्यार्थीलाई कण्ठ गराइने सरस्वती स्तोत्र असल स्तुति साहित्य हो। यसमा सरस्वतीलाई अनेक नाम उपनामले पुकारेर, चाकरी गरेर खुशी पार्ने त्यसको बदलामा विद्या प्राप्त गर्ने भन्ने भाव छ। यसले साधनालाई भन्दा चाकरी वा स्तुतिलाई जोड दिनुपर्छ भन्ने मनोविज्ञान बच्चाहरुमा तरङ्गित गराउँछ।
सयौँ वर्षदेखि सरस्वती स्तोत्र घोकेर सरस्वतीको पूजा गर्दै विद्यालय धाइरहेका हामी र हाम्रा पुर्खा अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धामा किन पछि परिरहेका छौँ ? मुलुक ज्ञान, विज्ञान र प्रविधिमा किन पछि परिरहेको छ ? एउटा कारण, स्तुतिवाद हो। स्तुतिवाद र हैकमवाद सामन्तवादका जुम्ल्याहा सन्तान हुन्।
सयौँ वर्षदेखि सरस्वती स्तोत्र घोकेर सरस्वतीको पूजा गर्दै विद्यालय धाइरहेका हामी र हाम्रा पुर्खा अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धामा किन पछि परिरहेका छौँ ? मुलुक ज्ञान, विज्ञान र प्रविधिमा किन पछि परिरहेको छ ? एउटा कारण, स्तुतिवाद हो। स्तुतिवाद र हैकमवाद सामन्तवादका जुम्ल्याहा सन्तान हुन्। आफूभन्दा शक्तिशालीको स्तुति गर्ने र कमजोरमाथि हुकुम लाद्ने व्यवहार सामन्ती व्यवस्थाका परिणाम हुन्। यो व्यवहार सरस्वती पूजामार्फत विद्यालयमा लागू गर्दा विद्यार्थीको सिर्जनात्मक र समालोचनात्मक चेतनालाई निषेध गर्छ।
सरस्वती पूजाले बालबालिकालाई विषयवस्तुमा नभई स्तुति र चाकरीमा मिहिनेत गर्न सिकाउँछ। चाकरीका लागि जतिसक्दो सुन्दर र मिठासपूर्ण शब्दहरु चयन गरेर दातालाई खुशी पार्नुपर्ने चेतना दिन्छ। अनि दाताबाट जे प्राप्त हुन्छ चुपचाप स्वीकार्न सिकाउँछ। जति शैक्षिक योग्यताको सिँढी चढ्दै गयो उति ‘लम्पसारवादी’ मनोविज्ञान झाँगिँदै गएको स्पष्ट देखिन्छ।
नामुद प्राध्यापक र विद्यावारिधिधारीहरु राजनीतिक नियुक्ति पाउन कोसेली बोकेर नेताका घरघर धाइरहेका छन्। न्यायाधीशहरु हात मुसार्दै पार्टी कार्यालय छिरेको ताँती होस् वा ‘भेटी’ चढाएर सांसद बन्ने होड। आनो घरमा ठूला नेतालाई बास दिएर ठेक्का प्राप्त गरेका उदाहरण पनि छन्। पदीय मर्यादा बिर्सिएर विदेशी राजदूतावासका कनिष्ठ कर्मचारीसँग आप्mना छोरीछोरीलाई छात्रवृत्ति दिलाइदिन बिन्ती बिसाउन जाने नेताहरुबारे पनि चर्चा चली नै रहन्छ।
पछिल्लो पुस्ताको भविष्य फरक हुनेछैन। विद्यार्थीलाई मिहिनेत गरेरभन्दा शिक्षकहरुलाई प्रभाव पारेर अङ्क प्राप्त गर्ने चाहना छ। अभिभावकहरु विद्यार्थीको सिर्जनात्मकता भन्दा अङ्कमै विश्वास गर्छन्। शिक्षकहरु पनि सिकाएर भन्दा ‘भेटी’ लिएर अङ्क बाँड्न चाहन्छन्। यही मार्काका शिक्षक, विद्यार्थी र अभिभावक सरस्वती पूजाका लागि मरिमेटेर लाग्छन्।
धार्मिक राज्यको झलक
श्रीपञ्चमी हिन्दू पर्व र सरस्वती हिन्दू देवी हुन्। हिन्दू धर्म बहुदेवता तथा बहुदेवी परम्परा भएको धर्म हो। हिन्दू धर्मावलम्बीले निष्ठा र सनातन विधिका साथ सरस्वतीको पूजा आराधना गर्नु स्वाभाविक हो।
नेपालमा जनसंख्याको ठूलो हिस्सा हिन्दू धर्मावलम्बी भए पनि संविधान अनुसार नेपाल धर्मनिरपेक्ष राज्य हो। सामाजिक रुपमा बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक मुलुक हो। धर्मनिरपेक्ष शब्दको व्याख्या, पुनःव्याख्या, अपव्याख्याको क्रम जारी छ। आम बुझाइमा धर्मनिरपेक्ष राज्यको अर्थ ‘राज्यको औपचारिक धर्म नुहुनु, राज्य धर्मप्रति तटस्थ रहनु र राज्यका सबै अंग वा निकाय कुनै खास धर्मबाट अलग रहनु’ हो।
संसारभरि नै दुई खाले शिक्षा कायम छ। साधारण सार्वजनिक शिक्षा र धार्मिक शिक्षा। धार्मिक शिक्षाको परम्परा लामो छ। नेपालमा धार्मिक शिक्षा दिने छुट्टै विद्यालय तथा कलेजहरु छन्, हिन्दूका लागि गुरूकुल वा वेद विद्याश्रम, इस्लामका लागि मदरसा, बौद्धमार्गीका लागि गुम्बा, इसाईका लागि विभिन्न मिसिनरी स्कुलहरु। यस्तो शिक्षामा सम्बन्धित धर्मका चाडपर्वलाई विशेष महत्व दिइन्छ। सम्बन्धित धर्मका प्रतीकहरुलाई विशेष ध्यान दिइन्छ।
तर, हरेक कोणबाट बहुरङ्गी विद्यार्थीहरु उपस्थित हुने विद्यालयमा उनीहरुबाट चन्दा उठाएर सरस्वतीको मन्दिर ठड्याउनु र जबर्जस्ती सरस्वती पूजामा सहभागी गराउनु धर्म निरपेक्ष राज्य सुहाउँदो काम होइन।
विगतमा भने यो स्वाभाविक हो। किनभने नेपाल हिन्दू अधिराज्य थियो। राज्यका हरेक अङ्ग र निकायमा हिन्दू धर्म र यसका प्रतीक उपस्थित हुनु अनिवार्य थियो। त्यसकालमा राज्यका हरेक क्षेत्रलाई हिन्दूकरण गरिएको थियो। शिक्षाले सबै तह र तप्का छिटो प्रभाव पार्ने हुनाले शैक्षिक संस्थालाई झन् गम्भीरताका साथ हिन्दूकरण गरिएको थियो। नैतिक शिक्षाको नाममा हिन्दू धर्मशास्त्र र मिथकहरु मात्रै पढाएर घुमाउरो पाराले धार्मिक शिक्षा दिइन्थ्यो। हिन्दूहरु मात्र नैतिक, अरु अनैतिक भन्ने मनोविज्ञान विद्यार्थीमा घुसाइन्थ्यो। महादेवको वरिपरि घुम्ने गणेश पुजिएको, ब्रह्माण्ड परिक्रमा गर्ने कुमार अपहेलित भएको कथाको माध्यमबाट विद्यार्थीलाई परिश्रमको तुलनामा चाकरी शक्तिशाली भन्ने सिकाइन्थ्यो।
यसले राज्यभित्रको बहुलतालाई स्वीकार गरेन भनेरै अनेक आन्दोलन भए। राज्य धर्मबाट औपचारिक रुपमा अलग भयो। राज्य सबै धर्महरुप्रति समदृष्टि राख्ने भयो। तर, शिक्षण संस्थाहरु बदलिएनन्। प्रधानाध्यापक, शिक्षक झनै एकल धार्मिक बन्दै गए। आप्mना विद्यालयमा हिन्दू मात्रै पढ्दैनन् मुस्लिम, बौद्धमार्गी, किराँत, बोनलगायत धर्मावलम्बी पनि पढ्छन्, उनीहरुका लागि सरस्वती र उनको पूजा अनिवार्य होइन भन्ने हेक्का राख्ने फुर्सदै भएन। यसले संविधानमा उल्लिखित धर्मनिरपेक्षता र समावेशीकरणको मर्मलाई प्रहार गरिरहेको छ।
धार्मिक बाहेकका शैक्षिक संस्थामा कुनै पनि धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन। जोसुकै विद्यार्थी वा शिक्षक आफ्नो धर्म, परम्परा र आस्था मान्न स्वतन्त्र छन् भन्नु सार्वभौम मानव अधिकार हो। हरेक धर्मावलम्बीका आआप्mना धार्मिक स्थल छन् र अझैं बनाउन सकिन्छ। तर, सबैखाले धर्मका अनुयायी एकसाथ रहने स्थान एकल धार्मिक हुनु हुँदैन। नत्र ‘धार्मिक हैकमवाद’ कायम रहन्छ।-हिमालखबर