काठमाडौं । सरकारले आइतबार भारतबाट कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप ल्याउन लागेको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी भारतबाट खोप ल्याउन लागिएको जनाएको छ। आइतबार एयर इन्डियाको दिल्ली–काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत खोप ल्याउन लागिएको हो।
सरकारले ५ फागुनमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियासँग कोभिसिल्ड खोप खरिद सम्झौता गरेको थियो। त्यहि सम्झौताअनुसार, आइतबार पहिलो खेपमा १० लाख डोज खोप आउन लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जनाएका छन्।
यसअघि भारतले १० लाख डोज कोभिसिल्ड खोप दिएको थियो। अहिले त्यहि खोप लगाइँदै आएको छ।
आइतबार भारतबाट ल्याइएको खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्ला स्वास्थ्यबाट खोप केन्द्रमा लगिनेछ।
त्यसपछि खोप लगाउन शुरु गरिनेछ। दोस्रो चरणमा २३ फागुनबाट खोप लगाउने योजना छ।
सम्झौताअनुसारका बाँकी खोप पनि छिट्टै आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले दोस्रो चरणका लागि २० लाख खोप खरिद गर्ने सम्झौता गरेको हो।
चीनले पनि नेपाललाई पाँच लाख खोप दिने प्रतिवद्धता गरेको छ। त्यस्तै, कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संस्थामार्फत २२ लाख डोज खोप आउने भएको छ।