काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो पटक काठमाडौंवासीको धारामा खस्न थालेको छ ।
सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी अहिले २ बजेपछि जनताको घरमा पुगेको हो ।
पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।
‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’
अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनले बताए ।
आयोजनाले आज र भोलि ४ करोड लिटर पानी ल्याएर बाढदैँछ । १७ गते साँढे ६ करोड लिटर, १८ र १९ गतेसाँढे ८ करोड लिटर पानी धारामा पठाइदैछ । एक हप्ता सम्म साँढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ ।
त्यसपछिको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउँने आयोजनाका प्रमुख श्रेष्ठ बताउँछन् । आयोजनाले नयाँ वितरणलाइनमा पानी पठाएको भएतापनि उक्त पानी खान योग्य नहुनेमेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्चीको पानी वितरण गर्ने जिम्मा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पाएको थियो । केयुकेएलले नयाँ पाइपलाइन विस्तार नभएको क्षेत्रमा भने पुरानै प्रणालीबाट पानी पठाएको हो ।
यस्तो छ, पानी आउने तालिका
पहिलो पटक काठमाडौंका धारमा खसेको पानीको तालिका समेत तयार पारिएको छ ।
पानी हरेक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।
साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ । यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ । त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ ।
यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।
पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ ।