काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिए । उनले अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय ३१ गरी जम्मा २ हजार ३५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७ सय ८६, भक्तपुरमा ८४ र ललितपुरमा १ सय ८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबारदेखि आजसम्म २३ हजार ९ सय जनामा परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण भएको छ ।
घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारेना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए । मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमा सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे ।
कोरोना सङ्क्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दै गरेकाले थाहा पाइपाइ भीडभाडमा नजान उनले आग्रह गरे । उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले सङ्क्रमण थप फैलिँदै गइरहेको बताए ।