काठमाडौं । कोरोना संक्रमण सुरु भएयता देशमा तेस्रोपटक लकडाउनको अवस्था सुरु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि उपत्यकामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाबाहिरका संक्रमण धेरै देखिएका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भइसकेको छ ।
खुल्ने क्षेत्रः अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, फोहोरमैला व्यवस्थापन, खाद्य पसल (बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म), औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल, डिपार्टमेन्ट स्टोरको ग्रोसरी (बिहान १० बजेदेखि ५ बजेसम्म), बैंक तथा वित्तीय संस्था,
बन्द हुने क्षेत्रः सार्वजनिक सवारी (बिहान ६ देखि राति १२ बजेसम्म बन्द), होटेल र रेस्टुरेन्टरअत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै निजी व्यवसाय, सभा, सम्मेलन, गोष्ठी, तालिम, सपिङ मल, सैलुन, जिमखाना, ब्युटिपार्लर, खेलकुद, संग्रहालय, पुस्तकालय, सिनेमा हल, पार्टी प्यालेस
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयको सिफारिस र गृह मन्त्रालयको सहमतिमा बिहीबार (१६ वैशाख)को बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । संक्रमण तीव्र रूपमा फैलिएपछि निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाअनुुुसार १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म सार्वजनिक यातायात बन्द हुनेछन् । सोमबार उपत्यकाका मात्र एक हजार पाँच सय ६७ जनामा संक्रमण देखिएको थियो ।
निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । खाद्य पसल बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खुल्नेछन् । डिपार्टमेन्ट स्टोरले ग्रोसरी मात्र सञ्चालन गर्न पाउनेछन् । जसका लागि १० बजेदेखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।
विवाहको हकमा जिल्ला प्रशासनबाट अनुमति लिएर बढीमा १५ जना सहभागी हुन पाउनेछ् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा सवारीसाधन प्रयोग गर्न पाउने निर्णय गरिएको छ । सरकारी कार्यालयमा अत्यावश्यक बाहेकको सेवा बन्द हुनेछ ।
कोरोना सुरु भएयताको तेस्रो लकडाउन तथा निषेधाज्ञा हो । सुरुमा सरकारले ११ चैत ०७६ मा देशव्यापी रूपमा लकडाउन लगाएको थियो । असारको पहिलो साताबाट सो लकडाउन अन्त्य गरिएको थियो । साउनबाट फेरि संक्रमण बढेपछि उपत्यकालगायतका ठाउँमा फेरि निषेधाज्ञा जारी गरिएको थियो । जुन बिस्तारै खुकुलो बनाइयो । अहिले दोस्रो लहर सुरु भएपछि फेरि निषेधाज्ञा सुरु भएको छ ।
तत्कालका लागि एक साता भनिए पनि यो कम्तीमा दुई साता लम्बिने गृह मन्त्रालयका एक अधिकारीले बताए । त्यसपछि परिस्थिति हेरेर निर्णय गरिने ती अधिकारीको भनाइ छ ।
देशभरि स्कुल बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड– १९ संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा यस्तो निर्णय भएको हो । साथै बैठकमा भारतसँगको सीमा बन्द गर्ने तथा देशव्यापी रूपमा लकडाउन गर्ने विषयमा समेत छलफल भएको थियो । नयाँपत्रिका