काठमाण्डौ । कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ । आजदेखि विभिन्न सात जिल्लामा निषेधाज्ञा थपिएपछि कूल निषेधाज्ञ जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको हो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । योसंगै अहिलेसम्म देशभरका ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।
निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढेको भन्दै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।
यसैबीच काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन हुने क्रम पनि नरोकिएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको हो ।