काठमाडौं । तीन दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र शरीर दुख्ने समस्याबाट थलिएपछि कालीकोटको खाडाचक्र–४ ताडीका ३६ वर्षीय युवाले बुधबार आधारभूत स्वास्थ्य इकाइमा स्वास्थ्य परीक्षण गराए । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा पठाइयो । अहिले आफन्त र छरछिमेकी उनको घरमा आउनै डराउन थालेका छन् ।
परिवारका अन्य तीन सदस्यलाई उस्तै लक्षण देखिए पनि समाजको डरले कोरोना परीक्षण गराएका छैनन् । ‘अस्पताल गयो, स्वास्थ्यकर्मीले कोरोना छ भनेर घर पठाइदिन्छन्,’ उनले भने, ‘कोरोना लागेपछि गाउँमा सबैको हेलाको पात्र बन्नुपरेको छ ।’
खाडाचक्र–४ स्थित दलित टोलमा घरघरै ज्वरोका बिरामी छन् । कोरोना देखिए हेला हुने भन्दै उनीहरूले पनि परीक्षण गराउन मानेका छैनन् । स्थानीय स्वास्थ्यकर्मी बुद्धिप्रसाद आचार्यले गाल्लीखोला, गाब, चिउरेला, मोटेलीवाडा, घटालीगाउँ र दमाइवाडालगायत टोलमा अधिकांश घरमा बालबालिकादेखि वृद्धसम्म ज्वरोले थलिएको बताए । ‘बिरामीलाई सबैले सामान्य रुघाखोकीका रूपमा लिएका छन्,’ उनले भने, ‘एन्टिजेन किट लिएर गाउँमा गए पनि कसैले परीक्षण गराउन मानेनन् ।’ उनका अनुसार खाडाचक्र नगरपालिकाले आधारभूत स्वास्थ्य इकाइमा करिब ५० थान एन्टिजेन किट पठाएको छ । ज्वरो र रुघाखोकी लागेका बिरामी इकाइमा समेत उपचारका लागि नआउने गरेको उनले बताए । अधिकांश बिरामीले घरेलु उपचार गराइरहेको उनको भनाइ छ ।
गाउँमा ज्वरोका बिरामी बढेपछि धामीझाँक्रीको व्यस्तता बढेको स्थानीय नवराज विकले बताए । ‘अधिकांश गाउँमा अस्पतालभन्दा धामीप्रति बढी विश्वास छ,’ उनले भने, ‘आजभोलि प्रत्येक दिनजसो कसैको न कसैको घरमा धामी बसिरहेका हुन्छन् ।’ गत बुधबार ताडीबाट आएका ६ बिरामीको एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा सबै संक्रमित देखिएको स्वास्थ्यकर्मी आचार्यले बताए । उनका अनुसार शिक्षा र चेतनाको अभावमा अधिकांश बासिन्दा धामीझाँक्री र घरेलु उपचारको भरमा छन् । तीन वर्षअघि ताडीमा फैलिएको रुघाखोकी र ज्वरोले चार जनाको मृत्यु भएको थियो भने झन्डै चार सय जना बिरामी परेका थिए ।
घरघरमा ज्वरो आएर सुतेका बिरामीलाई अस्पताल जाऊ भन्दा पनि अटेर गरेर घरमै बस्ने गरेको दलित अगुवा बाले विश्वकर्माले बताए । ‘बिरामी नभएको घरै छैन, ६र७ दिन ज्वरोले थलिएर सुत्छन्, फेरि उठेर काममा जान्छन्,’ उनले भने, ‘सिकिस्त भएपछि मात्र अस्पताल जाने सबैमा कोरोना पुष्टि हुने गरेको छ ।’
खाडाचक्र–४ मा वैशाखयता स्वास्थ्य परीक्षण गरेका ताडीका ४६ जनामै कोरोना पुष्टि भएको खाडाचक्र नगर स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । उनका अनुसार गाउँमा अझै २६ जना सक्रिय संक्रमित छन् । ती सबैको होम आइसोलेसनमा उपचार भइरहेको उनले जानकारी दिए । शाखाका अनुसार खाडाचक्रमा सबैभन्दा बढी २ नम्बर वडामा कोरोना संक्रमण फैलिएको छ । उक्त वडामा ७१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि ७ सय जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा खाडाचक्रमा मात्र ३ सय ५१ जना संक्रमित भएको उनले बताए ।
गाउँमा विवाह, व्रतबन्ध, पूजाआजालगायत जमघटले पनि कोरोना संक्रमण फैलाएको राप्रपा नेता लालबहादुर मल्लले बताए । ‘सामाजिक संस्कार नगर भन्न पनि नसकिने,’ उनले भने, ‘गर्न दिए कसैले मापदण्ड पालना गर्दैनन् ।’
संक्रमण भएर गाउँमा बसेकालाई सबैले अपराध गरेजस्तो गरेर व्यवहार गर्ने संक्रमणमुक्त भएका सामाजिक अभियन्ता सदानन्द तिमिल्सेनाले बताए । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न कठिन भएपछि नरहरिनाथ–६ माल्कोटकी ४० वर्षीया भरु विश्वकर्मालाई उपचार गर्न उनका पति गन्जेले एक साताअघि आठ घण्टा पिठ्युँमा बोकेर सदरमुकाम मान्म पुर्याए । उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो तर उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ अझै हुन सकेको छैन ।
अहिले संक्रमितलाई अक्सिजन दिएर उपचार गरिरहेको जिल्ला अस्पतालका डा. राजकमल कार्कीले बताए । ‘को कहाँबाट आयो भन्ने कसरी थाहा पाउनु रु’ उनले भने, ‘अहिले लक्षण देखिएका र शंकास्पद बिरामीको मात्र स्वास्थ्य परीक्षण भइरहेको छ ।’
कोरोना कहरले यातायात सञ्चालन हुन नसक्दा बिरामीलाई पिठ्युँमा बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता भएको स्थानीय कमल विकले बताए । ‘गाउँमा केही स्वास्थ्य समस्या देखिए आफन्तलाई बचाउनै मुस्किल छ,’ उनले भने, ‘सार्वजनिक गाडी चल्दैनन्, एम्बुलेन्सले गाउँमा आउन मान्दैनन् ।’ उनका अनुसार निषेधाज्ञाका कारण बाहिरबाट फर्कनेहरू सुर्खेतबाट पैदल हिँडेर कालीकोट आउन थालेका छन् ।
झन्डै दुई महिनाको अवधिमा डोल्पामा ७ सय ८८ जनामा कोरोना परीक्षण भयो । त्यसमध्ये १ सय ६४ जना कोरोना संक्रमित भेटिए । सुरुमा परीक्षणलाई तीव्र बनाइए पनि स्थानीय तहको बेवास्ताले समुदायस्तरमा परीक्षण हुन सकेको छैन ।
गाउँमा परीक्षण नभए पनि कोरोनाका शंकास्पद बिरामीको संख्या बढेको छ तर एन्टिजेन किट अभाव र पीसीआर परीक्षणका लागि स्वाब जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले स्थानीय तहले परीक्षणमा बेवास्ता गरेका हुन् । अहिले जिल्ला अस्पतालमा मात्रै कोरोना परीक्षण भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ‘किट नै नभएपछि अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र परीक्षण गरिरहेका छौं,’ निमित्त स्वास्थ्य व्यवस्थापक अमरसिंह शाहीले भने, ‘आइतबार मात्रै थप किट आएको छ, अब परीक्षण तीव्र बनाइनेछ ।’ उनका अनुसार आइतबार प्रदेश सरकारले पठाएको २ हजार ४ सय एन्टिजेन किट सबै स्थानीय तहमा पठाइनेछ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ, शे–फोक्सुन्डो र काइके गाउँपालिकामा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । माथिल्लो डोल्पामा बिरामी नभएको घरै छैन । सरकारको लापरबाहीले बिरामी ‘भगवान् भरोसामा’ बाँचिरहेको काइकेका बलबहादुर बुढाले बताए । ‘हामी धेरै जना परीक्षणकै पर्खाइमा छौं तर कसैले त्यसको पहल गरेनन्,’ उनले भने, ‘बिरामी निको हुने बेला भइसक्दा पनि परीक्षण नै हुन सकेन ।’
मुगुको सोरु गाउँपालिका–६ का देउराम बुढा एक साता ज्वरोले थलिए । घरेलु उपचारपछि केही सञ्चो भएका उनी अहिले काममा जान थालेका छन् । उनका छिमेकी देवभक्त बुढाले पनि घरेलु उपचारबाटै ९ दिनपछि ज्वरो जिते ।
मुगुका ग्रामीण क्षेत्रमा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत लक्षणका बिरामी बढे पनि उनीहरूको कोरोना परीक्षण हुन सकेको छैन । अधिकांश बिरामी धामीझाँक्री र घरेलु उपचारकै भरमा छन् । ४र५ दिनसम्म जडीबुटीको रस नियमित सेवन गरेपछि मजदुरीमा जान थालेको देउरामले बताए । ‘गाउँका स्वास्थ्यचौकीमा न स्वास्थ्यकर्मी छन् न औषधि,’ उनले भने, ‘कोरोनाको जस्तो लक्षण देखिए पनि हामीले परीक्षण नै गराउन पाएनौं ।’ उनले स्थानीय जनप्रतिनिधिलाई उपचार र परीक्षणको व्यवस्था गर्न पटकपटक अनुरोध गरे पनि बेवास्ता भएको बताए । खत्याड गाउँपालिकाका विभिन्न बस्तीहृमा पनि ज्वरोको प्रकोप बढेपछि गाउँपालिकाले एउटा बस्तीबाट अर्को बस्तीमा आउजाउ गर्न निषेध गरेको छ ।
मनाङको चामेबाट कोरोना संक्रमित बिरामीलाई उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाउनका लागि हेलिकप्टरतर्फ लैजाँदै । तस्बिरस् कान्तिपुर
हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ । हिमाली जिल्ला म्याग्दीमा समुदायमा कोरोनाको लक्षण देखिएका बिरामी भए पनि परीक्षण भएको छैन । म्याग्दीमा जिल्ला कोरोना संकट व्यवस्थापन समिति र सरोकारवालाको सोमबार बसेको भर्चुअल बैठकमा समुदायमा परीक्षण नभएको विषय उठेपछि साताभरि सबै वडा र बस्तीमा परीक्षण अभियान चलाउने गरी जेठ ३१ गतेसम्म एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।
‘भुरुङ, राम्चे, पाउद्धारलगायत विभिन्न बस्तीमा कोरोनाको लक्षण मिल्ने बिरामी धेरै भए पनि परीक्षण नभएको गुनासो गरेका छन्,’ एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा पनि संक्रमण फैलिएको तर परीक्षण नभएको गुनासा छन् । परीक्षणको दायरा बढाउनुपर्ने अवस्था छ ।’
स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य मापदण्ड पालना नभएका बस्तीमा बढी संक्रमण देखिएको छ । निषेधाज्ञाले संक्रमणको चेनब्रेक गरेको र संक्रमण दर घट्दै गए पनि एक लाख जनसंख्या भएको जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेकाले एक साता परीक्षण अभियान सञ्चालन गरिने भएको हो ।
स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार घरपझोङ्ग, थासाङ, बाह्रगाउँ, मुक्तिक्षेत्र र लोमन्थाङ गाउँपालिकामा हाल १ सय ५० जना सक्रिय संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि घरपझोङ्गमा ४, थासाङमा ३ र बाह्रगाउँ, मुक्तिक्षेत्रमा ६ जनाको मृत्यु भएको छ । मुस्ताङमा जारी निषेधाज्ञाले समुदायस्तरमा संक्रमणको चेनब्रेक गरे पनि अझै प्रभावकारी बनाउन समुदायमा परीक्षण बढाउने गरी जेठ ३१ सम्म निषेधाज्ञा थपिएको छ । ‘कोरोना संक्रमण बढेपछि बस्ती–बस्तीमा अभियानकै रूपमा एन्टिजेन परीक्षण गरिरहेका छौं, भन्डै एक घर एक परीक्षणको दायरामा कोरोना परीक्षण गरिरहेका छौं,’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीका भण्डारीले भने, ‘लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र लक्षण देखिने बिरामी कोही नभएकाले परीक्षण आवश्यक नपर्ने भनेपछि गरेका छैनौं । बाँकी सबै ४ गाउँपालिकामा भने परीक्षण बढाएका छौं ।’
नार्पाभूमिमा भएन परीक्षण
तिब्बती सीमानजिक हिमाली जिल्ला मनाङको नार र फू गाउँका केहीमा रुघाखोकी छ । सदरमुकाम चामेनजिक कोतोबाट हिँडेर दुई दिनमा पुगिने यहाँ सडक पुगेको छैन । नार गाउँका फुर्पा ठेले लामाका अनुसार केहीमा रुघाखोकी लागे पनि कोरोना नै हो भन्ने अनुमान स्थानीयले गरेका छैनन् । गाउँमा ८६ घरधुरी छन् । ‘केहीलाई रुघाखोकी छ, के भएको भन्ने थाहा छैन, कोरोना जाँच पनि भएको छैन,’ उनले भने ।
उनका अनुसार गत वैशाखमा काठमाडौं र पोखराबाट केही गाउँले घर आएका थिए । त्यसपछि सामान्य रुघाखोकी चलेको हो । कोरोना संक्रमण जोखिमले २ सातायता नार्पाभूमिमा बाहिरका कसैलाई पस्न दिइएको छैन । नार्पाभूमि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले भने, ‘नार र फूमा स्वास्थ्य चौकी छ । केही समस्या भए खबर आउनुपर्ने । त्यस्तो खबर आएको छैन ।’ उनका अनुसार नार्पाभूमिमा स्थानीयको कोरोना भने परीक्षण भएको छैन ।
ङिस्याङ गाउँपालिकाको मनाङ गाउँका अगुवा विनोद गुरुङका अनुसार अहिले कोरोना नियन्त्रणमा छ । ‘केही समय अगाडि हामीलाई निकै समस्या बनाएको थियो । मनाङमा सबैभन्दा धेरै हाम्रै गाउँपालिकामा देखिएको थियो,’ उनले भने, ‘अहिले धेरै युवा किरा टिप्न ९यार्चागुम्बा खोज्न० गएका छन् । गाउँमा संक्रमित खासै देखिएका छैनन् ।
स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यका अनुसार पछिल्लो समय सदरमुकाम चामेमा बढी संक्रमित देखिन थालेका छन् । ‘काठमाडौं–पोखराबाट सिधै आउने अन्यमा भन्दा चामेमा धेरै छन् । त्यसैले यहाँ दिनका दिन कोरोना संक्रमित भेटिएका छन्,’ उनले भने । यहाँ पछिल्लो समय पीसीआरभन्दा एन्टिजेन परीक्षणमा जोड दिइएको छ । ‘पीसीआर गर्नलाई पोखरा पठाउँ भने रिपोर्ट कहिलेको हो कहिले १’ उनले भने ।
मनाङमा एक महिनामा १ सय ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ । सोमबारसम्म सक्रिय संक्रमित संख्या ४५ छ । दुई जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । गत वर्ष यहाँ २० जनामा मात्रै संक्रमण देखिएको थियो ।
परीक्षण गराउनै डराउँछन्
समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन कञ्चनपुरको वेदकोट नगरपालिकाले लक्षण देखिएका, होम आइसोलेसनमा बसेका व्यक्तिका परिवारका सदस्य र संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्ने लक्ष्यका साथ वडास्तरमा एन्टिजेन परीक्षण सुरु गर्यो तर परीक्षणका लागि स्थानीय नै आएनन् । कुनै वडामा त दिनभरिमा ४र५ जनाले मात्रै परीक्षण गराए । वेदकोटका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले भनिन्, ‘सबै वडामा गरेर दुई सय जनाले पनि परीक्षण गराएनन् ।’
१० वटै वडामा १ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त नगरपालिकामा वडास्तरमा एन्टिजेन परीक्षण गर्दा होम आइसोलेसनमा बसेकाको संख्या ९० थियो । सामान्य रुघा, ज्वरो र टाउको दुख्ने समस्याका थुप्रै थिए तर तीमध्ये थोरैले परीक्षण गराए । होम आइसोलेसनमा बसेका संक्रमितको परिवारका सदस्यले मात्रै परीक्षण गराए पनि ४र५ सय नाघ्ने नगरको अनुमान थियो । ‘सबैलाई जानकारी पुगेको थियो तर डराए,’ पालले भनिन् । जिल्लामा सबैभन्दा बढी संक्रमित रहेको भीमदत्त नगरपालिकाले पनि गत साता वडास्तरमा एन्टिजेन परीक्षण गरेको थियो । ‘जसलाई लक्षित गरिएको थियो त्यो समुदाय आउँदै आएन,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘जो ज्वरो आएर, टाउको दुखेर घरमै बसेका छन्, तिनीहरू परीक्षण गराउन डराए ।’
उनका अनुसार नगरपालिकाले लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएकालाई नै लक्षित गरेर वडास्तरमा परीक्षण सुरु गरेको हो । जोशीले भने, ‘परीक्षण गराउन गाउँमै टोली खटिएका बेला पनि कोही आउँदैनन् ।’
भीमदत्तमा एक सातामा १ हजार ४६ जनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ । पुनर्वास नगरपालिकाले गत शुक्रबार वडास्तरमा परीक्षण सुरु गरे पनि दिनमा २०र२५ जना मात्रै सहभागी भइरहेका छन् । जसमा ४र५ जनामा संक्रमण देखिने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताए । केही दिनयता महाकाली अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको संख्या पनि घट्दै गएको छ । कान्तिपुर