हुम्ला जिल्ला बहु–जाति, बहु–धार्मिक तथा बहु–भौगोलिक विविधता बोकेको जिल्ला हो । यसर्थ यहाँ भाषा, समाज, संस्कार र संस्कृतिमा समेत विविधता छ । तर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता छ । यहि विविधतामा एकता भएकै कारण यो जिल्ला सामाजिक, सांस्कृतिक, धार्मिक, दृष्टिकोणले सम्पन्नशाली छ । हिन्दु तथा बौद्ध धर्मालम्वीको वसोवास भएको हुँदा दुबैका आ–आफ्ना रितीरितीवाज संस्कृति र परम्पराहरु परापूर्वकाल देखि रहिआएका छन् । लामा र धाँमी झाँक्री प्रथाप्रति अगाध बिश्वास राख्ने यहाँका बासिन्दाहरुमा हिन्दु र बौद्ध धर्मको मिश्रित प्रभाव रहेको छ । हुम्ला जिल्लामा अनगिन्ति एवं विशिष्ट तथा फरक किसिमका संस्कार र संस्कृतिहरु बिद्धमान छन । तिनीहरु मध्ये मासीहाड खाने चलन वा परम्परा एक हो ।
के हो मासिहाड खाने प्रचलन ?
हुम्ला लगायत त्यस आसपासका जिल्लाहरुमा मासीहाड दिने र खाने चलन हाम्रो समाजमा सदियौंदेखि अभ्यासरत छ । मासीहाड मार्फत समाजमा रहेका गन्नेमान्ने र बुढापाखाको मानसम्मान गर्ने चलन हो । समाज वा समुदायमा भएका बुढापाका जेष्ठ नागरिक, समाजका अग्रज र गन्यमान्य नागरिक र धार्मिक एवम् परम्परागत संस्थाका अगुवाहरुकासाथै सम्मानित भद्रभलादमी, जानमान, मुखिया, धामी डाँग्रीलगायत प्रख्यात व्याक्तिहरुको सम्मान र मर्यादा अनुसार समाजमा उनीहरुको महत्व एवम् योगदान अनुसार जुनसुकै शुभ तथा अशुभ कार्यमा हुने भोज भतेर, पुजापाठ आदि अवसरमा काटिएका अर्थात बलि दिइएका खसी बोकाहरुका मासीहांड (मासुको नलि हांड भित्र भएको गिल्लो र पोषिलो पदार्थ) र टाउकाको र खुट्टामा भएका अंगलाई काटकुट गरेर पकाएर भोज भतेर खाईसकेपछि वितरण गरिन्छ । ति सम्मनानित व्याक्तिहरुबाट आशिर्वाद ग्रहण गरिन्छ । यो चलन नै मासी हांड खाने वा दिने चलन हो ।
सामन्यतय एउटा खसीको आवश्यकता अनुसार जम्मा ३६ वटासम्म मासी हांड बनाउन सकिन्छ । मासीहांडको रुपमा विशेषगरि टाउको, अगाडी पछाडिका सपेटा (फिला) र खुट्टाहरुलाई प्रयोग गरिन्छ । यसरी मासीहांडका रुपमा बनाईने अंग वा अन्य भागभन्दा आकारमा ठूलठूला, हाडभन्दा मासु बढी र निकै स्वादिष्ट हुन्छन । समुदायमा हुने फरक–फरक सामाजिक र सांस्कृतिक उत्सव, अवसर एवम् भोज भतेरजस्ता कार्यहरुमा फरक–फरक सामाजिक मर्यदाक्रम अनुसार यसको वितरण गर्ने प्रक्रिया रहेको छ ।
माणु अथवा देवी देवताको पुजापाठमा धामीको मर्यादाक्रम अनुसार मासिहाड वितरण हुन्छ भने विवाह, व्रतवन्ध लगायतका अन्य शुभकार्य एवं अन्य पुजापाठहरुमा गरिने भोजभतेरहरुमा उमेरको जेष्ठताका साथै सामाजिक मानमर्यादा अनुसार मासीहांड वितरण गर्ने प्रचलन रहेको छ । नेपाल स
रकारले पनि सामाजमा रहेका जेष्ठनागरिक सदस्यहरुको सामाजिक सम्मानकालागि सामाजिक सुरक्षा भत्ता दिएर सम्मान र आदर गरे झैँ हाम्रो समाजले यो मासीहाड दिएर मानसम्मान र श्रदाभव प्रकट गर्ने सामाजिक सांस्कृतिक संस्कार छ र अंगाल्दै आएको छ ।
सामाजिक मर्यादाक्रमको सन्दर्भमा माथि उल्लेख गरिए झैं खस जातिमा धामीलाई पहिलो मर्यादाक्रममा राखिएको हुन्छ भने डाँग्री (मुख्य पुजारी), बिन्त्यारु (दोभाषे वा धामी र छुनुरामुनुरा बीचको संवाद आदान–प्रदान गर्ने वा बुझाउने व्याक्ति) र छुनुरा वा सर्वसाधारण व्याक्ति क्रमश दोश्रो, तेश्रो र चौथो मर्यादामा रहनेगरि धामीवाद अन्तर्गतको मर्यादाक्रम कायम रहेको छ । त्यसैगरि सामाजिक वा सामुदायिक कार्यका साथै विभिन्न छलफल, बैठक वा सभा आदिमा गाउँको मुखियालाई पहिलो मर्यादाक्रममा राखेको हुन्छ भने जानमान, भद्रभलादमी, नेता, समुदायको लब्धप्रतिष्ठित व्याक्तिहरुलाई दोश्रो, धामी, डाँग्री, विन्त्यारु र सर्वसाधारणहरुलाई क्रमश तेश्रो, चौथो, पाँचौ र छैठौं तहको मर्यादाक्रममा राखेर गणना गरिएको हुन्छ । सोही अनुसार खसीको मासिहाड वितरण गर्ने प्रचलन अहिले पनि प्रयोगमै छ । लामा समुदायको सामाजिक अर्थात सामुदायिक मर्यादाक्रमको स्तरीकरण हेर्दा गुम्बाको छबी लामा (वरिष्ठ लामा), ग्यांङ्गसुम (गाउँको मुख्य मान्छे वा मुखिया), डाँग्री, धामी, गाडपो (परम्परागत राजनीतिक प्रमुख), त्रो वा नै (गाउँको रितिथिति, संस्कार गर्ने प्रमुख, नायक प्रमुख), डोल्गा (नाटक वा प्रहसन कलाकार), मिक्या (सर्वसाधारण जनता वा व्याक्ति), आर्म योङदङमो (संरक्षक आमासमुह) र रिगन, लुहार आदि क्रमश एकपछि अर्को हुदैँ मर्यादाक्रम निर्धारण गरिएको हुन्छ । ह्वार्य वा स्वाँर्य (भोज भतेरमा खाना पकाउने समुह) ले काटकुट गर्ने, पकाउने र माथि उल्लेखित मानमर्यादाक्रम अनुसार मासीहाड वितरण गर्ने चलन रहेको छ ।
कसलाई कस्तो मासिहाड ?
पहिलो मर्यादाक्रममा रहेका धामी, लामा, मुखिया व्याक्तिहरुलाई आँखाको भाग दिने चलन रहेको छ भने त्यसपछि कान, बाटुल्ली हाड, पाते हाड, बंगारा (च्यापु)को भाग, थोल्मु , नल्नेठोका भाग, खुट्टाको नल्नेठो को भाग र खुर वा खुरेउटाको भाग क्रमश पहिलोबाट अन्तिम मर्यादाक्रममा रहेका सर्वसाधारणहरुलाई वितरण गर्ने गरिन्छ । आँखाले सबैथोक हेर्ने र देख्ने काम गर्ने र कानले सुन्ने काम गर्ने भए झैँ धामी, लामा, मुखियाले पनि समुदायमा सबैको दुख सुख हेर्ने र त्यहि अनुसार न्याय निसाफ गर्ने काममा अग्रसर हुने हुँदा आँखा कान दिएर सम्मान गरिन्छ किनकि आँखाले सबैथोक हेर्ने र देख्ने काम गर्ने र कानले सुन्ने काम गर्दछ त्यसैले यी अंगहरुको महत्व धेरै भएकोले “आँखो मान खानु कान” भन्ने उखानले हुम्ली समाजमा मान्यता पाएको छ । हुम्लामा मान सम्मानकालागि भोज भतेरमा दिइने एउटा खसीबोकाबाट तयार हुने ३६ वटा मासीहाडहरु निम्नानुसार रहेको छ ।
तालिका नं. ४; एउटा खसीबाट निस्कने मासी हांडको विवरण
यस किसिमको मासी हाड अन्य भागको मासुभन्दा बढी स्वादिलो एवम् आकार र मासुको उपलब्धताका दृष्टिले पनि फरक हुने हुदाँ एकातिर यो प्रचलन वा प्रथाको निरन्तरतामा पुर्खाहरुले बठ्याँई, चलाखीपूर्ण एवं विभेदपूर्ण संस्कार वा चलन अंगालेको त होइन भनेर नयाँ पुस्ताहरुबीच शंका उत्पन्न गरेको छ । अर्को पक्षबाट हेर्दा समाज वा समुदाय सञ्चालनकालागि समाजमा रहेका लब्धप्रतिष्ठित, जेष्ठ नागरिकदेखि जानमान, भैभलादमीहरु, वैदिक धामी, डाँग्री, लामा आदिको महत्व एवम् आवश्यकतालाई मनन गर्दै उनीहरुप्रति आदर, सत्कार, निष्ठाभाव सहित मानसम्मान गर्नुपर्छ भन्ने नयाँ पुस्ताहरुबीच संदेश प्रवाह गरेको छ । ठूलाबडा लब्धप्रतिष्ठित व्याक्तिहरुको मिष्ठान्न भोजन वा खानेकुरा प्रतिको लोभलालचले यस किसिमको चलन सदियौदेखि हालसम्म चलन चल्तीमा रहेको र यसले सानो र ठुलो, हुनेखाने र हुँदाखाने बीचकासाथै उपल्लो दर्जा र तल्लो दर्जाबीच पनि खाना वितरण प्रणालीमा चलाखीपूर्ण राजनीति गर्दै विभेद गरेको छ भन्ने राय नयाँ युवापिढीहरुको रहेको छ ।
यसले समाजमा संस्कार र सुसंस्कृत र आफु भन्दा ठुलाको आदर सम्मान र सानालाई माया गर्नुपर्छ भन्ने संस्कार र संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न ठलो सहयोग गरेको भन्ने मत बुढापाका वा बाजे पुस्ताहरुको रहेको छ । जे होस नेपालको अन्य कुनै ठाउँमा नसुनिएको र अभ्यासमा नआएको यो बिचित्र र अनौठो चलनको निरन्तरता हुन जरुरि छ कि छैन ? त्यो अहिलेको पुस्ताकालागि प्रश्न चिन्ह खडा गरिदिएको छ । तरपनि योसामाजिक सम्मानको एक अनौठो र आदिम विधि तथा संस्कार हो ।
लेखक रोकाया समाजशास्त्र र मानवशास्त्रका अध्यता हुनुहुन्छ ।