काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार हुनुभएको हो । नेता नेम्वाङले भन्नुभयो, “ मंगलबार दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।” साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उनले जानकारी दिए ।
नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी हुनुभएको बताइएको छ ।
एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले नौ वटा केन्द्रीय विभाग गठन गरी संयोजक तोकेको थियो । त्यसको भोलिपल्ट दुई नेताहरुबीच भेटवार्ता गर्ने समय तय भएको नेता नेम्वाङले बताए । भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।
चार नेताबीच छलफल
नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा अोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन खोजेका छन् ।
भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । आज पनि चार नेता वार्ताको वातावरण बनाउन छलफलमा छन् ।
चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएका छन् ।
नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सोमवारको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् ।
एमालेको न एकता,न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुवै पक्ष सहमत रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउछन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट पनि दिन नहुने उनले बताए ।