काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताए ।
बिहिबार (आज) बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेको जानकारी दिए । अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको भन्दै उनले निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्य नजिक सरकार पुगेको उल्लेख गरे ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षका बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, उहाँको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । २०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उहाँको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो ।
राज्य व्यवस्था समितिले भन्यो– ‘छानबिन प्रतिवेदन सार्वजनिक गर’
संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि समितिको निर्देशन छ । गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ । त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।
संसदीय समितिले व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि समितिले निर्देशन दिएको छ ।