काठमाडौं । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्यान्वयनमा नजाने बताएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भटेकी सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।
चार दिने भ्रमणमा आएकी उनले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन् ।
अन्योलमै फिर्ता
चार दिनसम्म काठमाडौंमा दौडधुप गरेकी उनले नेपालका राजनीतिक दलहरुबाट धेरै आशावादी सन्देश भने पाइनन् ।
राजनीतिक भेटवार्ताहरु सकिएपछि आज दिउँसो पत्रकारहरुसँग सुमारको अन्तरक्रिया राखिएको थियो । उक्त अन्तरक्रियामा बोल्दै सुमारले नेपालको संसदले एमसीसी सम्झौता चाँडै पारित गर्ने आशा व्यक्त गरिन् । यद्यपि, त्यो उनको औपचारिक अभिव्यक्ति मात्र थियो । उनले एमसीसीमाथि राजनीतिकरण नगर्न आग्रह गरिन् । त्यो चाहिँ उनको भेटघाटको अन्तर्य थियो ।
चार दिनको बसाइमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवादेखि लोसपाका अध्यक्ष महन्त ठाकुरसम्मलाई भेटेकी थिइन् । प्रधानमन्त्री देउवाबाहेक अरु कसैबाट पनि उनले स्पष्ट जवाफ पाइनन् । एमसीसी फिर्ता लैजाउ भनेर कसैले भनेनन् तर पारित गर्छौं पनि भनेनन् ।
अर्थपूर्णरुपमा सुमारको भेटघाटको सुरुवात एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको थियो । ओलीसँगको भेटघाटले उनलाई खासै उत्साहित तुल्याएन । सरकारमा हुँदासम्म एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका ओलीले प्रतिपक्षमा झरेसँगै आफ्नो अडान फेरेका छन् । अहिले उनी एमसीसी पारित गर्न सरकारलाई सघाउने मुडमा छैनन् ।
सुमारसँगको भेटवार्तामा ओलीले प्रधानमन्त्री छँदा आफूले एमसीसी पारित गर्ने कोशिष गरेको बताए । तर, अब आफ्नो पार्टी एमसीसीको पक्षमा नउभिन सक्ने संकेत गरे । एमसीसीबारे सरकारको धारणा आएपछि मात्रै आफ्नो पार्टीले निर्णय लिने उनको भनाइ रह्यो । तर, बदलिएको राजनीतिक परिवेशका बीच एमालेले एमसीसीका पक्षमा निर्णय लिने सम्भावना कमजोर देखिएको छ ।
सत्तारुढ गठवन्धनका दुई नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटले सुमारलाई थप निराश तुल्याए । प्रचण्डले नेपालका राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरेर मात्रै एमसीसी कार्यान्वयन हुन सक्ने अमूर्त जवाफ दिए । नेकपा एसका अध्यक्ष नेपालले पनि एमसीसीबारे सत्तारुढ गठवन्धनले साझा दृष्टिकोण बनाउने भन्दै टारे ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटले भने सुमारलाई थोरै सान्त्वना मिलेको छ । उनले एमसीसी कार्यान्वयन गर्ने वचन दिएका छन् । तर, देउवाको वचनमा सुमार आश्वस्त हुन सक्दिनन्, किनकी नेपालमा अहिलेको राजनीतिक माहोल एमसीसीको पक्षमा छैन । संसदबाट सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा कांग्रेस मात्रै देखिएको छ । संसदमा कांग्रेसको एकल बहुमत नरहेको हुँदा उसले मात्रै चाहेर एमसीसी पारित हुँदैन । गठवन्धनका दलहरु नै यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । जबकि अमेरिकाले एकपटक हस्ताक्षर भइसकेको सम्झौतामा हुनै हेरफेर र संसोधन हुन नसक्ने बताइसकेको छ ।
नेपालले थप ढिलाइ गरे अमेरिकाले एकतर्फीरुपमा सम्झौता भंग भएको घोषणा गर्न सक्ने आँकलनहरु भइरहेका छन् । तर, आज पत्रकारहरुसँग कुरा गर्ने क्रममा सुमारले अमेरिकाले अब कतिञ्जेल प्रतिक्षा गर्छ भन्ने खुलाइनन् । उनले चाँडो पारित गर्नुपर्नेमा मात्रै जोड दिइन् । यद्यपि, नेताहरुसँगको भेटघाटमा भने उनले एमसीसी कार्यान्वयन गर्न दुई वर्ष ढिलाइ भइसकेको भन्दै अब धेरै पर्खिन नसक्ने बताएकी थिइन् ।
आफ्नो ‘काठमाडौं मिसन’ सिध्याएर सुमार भोली स्वदेश फर्किँदैछिन् । नेपालभित्र एमसीसीलाई लिएर कस्तो माहोल छ भन्ने नियाल्न पाइन् । तर, जे उद्देश्य लिएर आएकी थिइन्, त्यसमा उनलाई अपेक्षित सफलता भने हात लागेन । अमेरिकामा गएर उनले कस्तो व्रिफिङ गर्नेछिन्, सम्भवतः एमसीसीको भविष्य त्यसमै निर्भर गर्ने छ ।
एमसीसी सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर, नेपालको संसदबाट पारित गर्न ढिलाइ हुँदा परियोजनाको भविष्य अन्योलमा परिरहेको छ ।