काठमाडौं । संसद्मा देखिएको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी नहुने भएको छ ।
सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
'सभामुखले समस्या समाधान गर्ने तरिका नै अपनाउनुभएन । हामीले उठाएका प्रश्नको जवाफमा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलाई बोलाएर मिल्दैन,' भट्टराईले भने, 'सिधै बालकोट ९केपी शर्मा ओलीको निवास० मा बैठक गरौं न, केको ल्याङफ्याङ हो सभामुखको ?'
सभामुखको भूमिका बदनियतपूर्ण रहेको भट्टराईले आरोप लगाए । ‘बैठकमा देउवा, प्रचण्ड र माधवकुमार नेपाललाई बोलाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजिएको हो । हामी किन सहभागी हुने ?,' उनले भने ।
एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ । सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
एमालेले वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालनिकट २८ सांसदले संसद् बैठक बहिष्कार गरेका थिए । सोही ह्विप उल्लंघनलाई लिएर एमालेले भदौ १ गते संसद् सचिवालयलाई सूचना दिएको थियो । एमालेले कारबाहीको सिफारिस गरेका १४ सहित २३ जना प्रतिनिधिसभा सदस्यले नयाँ दल नेकपा ९एकीकृत समाजवादी० गठन गरेका छन् ।