काठमाडौँ । नेकपा (एमाले)ले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति प्रस्ताव गरेको छ ।
१५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताका लागि १५ बुँदे आचारसंहिता पेस गर्दै विपक्षी गठबन्धनमा लाग्ने नेता कार्यकर्तालाई पनि कारबाही गरिने प्रस्ताव गरेका छन् ।
‘पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको’ अवस्थामा कारवाही गर्नसकिने प्रस्ताव अध्यक्ष ओलीले १५ असोजमा राख्दैछन् ।
राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीलाई धक्का पर्ने र पार्टीको हित प्रतिकूल हुनेगरी कसैले कुनै काम गर्न गराउन नहुनेमा जोड गरेका छन् ।
अध्यक्ष ओलीको प्रस्तावअनुसार कुनै अवस्थामा पार्टी सदस्य वा जुनसुकै कमिटीको कुनै पनि पदाधिकारी, सदस्य तथा कमिटीहरु माथि अनुशासनको कारवाही हुनसक्ने भन्दै १५बुँदे आचारसंहिता प्रस्ताव गरेका छन् ।
निम्त गतिविधि गरेमा यो आचारसंहिता लागु हुने छ,
१) पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको ।
२) पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेका वा विपक्षीलाई सहयोग पुर्याएकोमा वा पार्टीविरुद्ध शत्रुवत् व्यवहार गरेको ।
३) पार्टी निर्णय उल्लङ्घन गरेको ।
४) पार्टीप्रति निष्ठा र विश्वास नरहेको ।
५) पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ।
६) पार्टी कमिटीको गोपनीयता भंग गरेको ।
७) पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको ।
८) कुनै पनि जन प्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेको, पार्टीको उम्मेदवारविरुद्धप्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको,
९) सरकार, केन्द्रीय वा प्रदेश र स्थानीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय वा निर्देशनविपरीत कार्य गरेको ।
१०) नैतिकपतन देखिने, फौजदारी कसुर गरेका वा भ्रष्ट क्रियाकलाप गरेका वा अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रको हितविपरीत काम गरेको ।
११) पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेस गरेको वा स्रोत खुलाउन नचाहेको ।
१२) पदीय आचारण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको ।
१३) छुवाछुत वा जातीय भेदभाव वा लैङ्गिक हिंसाजन्य क्रियाकलाप गरेको ।
१४) पार्टीको विधान या नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालन गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेको ।
१५) सार्वजनिक नैतिकता वा सदाचारको उल्लंघन गरेका वा निजको कामबाट पार्टीको साखमा प्रतिकूल असर पर्ने कुनै कार्य गरेको ।