काठमाडौं । नेकपा एमालेको पछिल्लो १५ दिनमा ७५ हजार संगठित सदस्य थपिएका छन् । संगठन विभागका सदस्य ज्ञानबहादुर भुजेलले शुक्रबार दिउँसोसम्ममा ८ लाख १० हजार संगठित सदस्य पुगेको बताए । गत कात्तिक १२ गते भएको केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्य ७ लाख ३४ लाख भएको जानकारी गराइएको थियो
महाधिवेशनको प्रतिनिधि शनिबार एकैपटक छनोट गर्ने घोषणा गरेको एमालेको संगठित सदस्य संख्या अन्तिम टुंगो शुक्रबार साँझसम्म लागिसकेको छैन । तर अझै पनि सुदूर पश्चिमको अछाम, काठमाडौंसहित प्रदेश नम्बर २ का केही जिल्लाको संगठित सदस्यताको विषयमा अन्तिम नामावली तयार पार्न बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।
'अछाम, प्रदेश नम्बर २ का केही जिल्ला र काठमाडौं जिल्लाको संगठित सदस्यको अन्तिम रुपमा दिन बाँकी रहेको छु भुजेलले भने, 'शुक्रबार रातिसम्ममा सबै काम सकेर नामावली सबै जिल्लामा पठाइसक्छौं ।' पछिल्लो समयमा सुदूरपश्चिम, प्रदेश २ मा संगठित सदस्यताको विषयमा बढी समस्या देखिएको थियो ।
सुदूरपश्चिमका जिल्लाहरुमा संगठित सदस्यको जथाभावी वितरण गरेको भन्दै कतिपय ठाउँमा असन्तुष्टिसमेत व्यक्त भएको छ । कैलाली २ का सांसद तथा केन्द्रीय सदस्य झपट रावलले कैलालीमा जथाभावी सदस्यता वितरण गरेर पार्टी कब्जा गर्न खोजिएको बताए । 'एकीकरण प्रक्रियाबाट आएका भन्दै १० हजार संगठित सदस्य वितरण गरिएको छ । नेकपा हुँदा माओवादीले भनेको संख्या पनि त्यही थियो,' रावलले भने, 'यो पार्टी कब्जाका लागि भएको हो ।'
रावलका अनुसार उनकै निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकामा एकता प्रक्रियाबाट एक माओवादी कार्यकर्तामात्रै अहिले एमालेमा रहेका छन् । तर, सो नगरपालिका १ हजार ६ सय माओवादीबाट एकता प्रक्रियामार्फत आएको देखाइएको छ । 'सदस्य को हुन भन्ने भन्ने कुनै विवरण छैन । खाली नाममात्रै छ बाबु आमा को हो ? ठेगाना कहाँ हो भनेर पनि लेखिएको छैनु, रावलले भने, 'जिल्ला कमिटीमा रहेका साथीहरुको नाम काटिएको छ ।'
समस्या काठमाडौंमा पनि देखिएको छ । काठमाडौंमा पनि पार्टीको कति संगठित सदस्य छन् भने यकिन विवरण शुक्रबार बेलुकीसम्म पनि देखाएको छैन । काठमाडौंका एक नेताले काठमाडौंबाट ४४ जना प्रतिनिधि हुने निश्चत भए पनि पार्टी सदस्यता कति हुन्छ भन्ने यकिन भइनसकेको बताए ।
'एमाले संगठनात्मकदेखि सदस्यता विवरणसमेत चुस्त राख्ने पार्टी हो । तर अहिले भद्रगोल देखिएको छ,'एक स्थायी कमिटीका सदस्यले भने, 'पहिले दुई समूह तलैसम्म थियो । एक पक्षले अर्को पक्षसँग चेक एन्ड ब्यालेन्सको काम हुन्थ्यो । अहिले जभाभावी भएको छ ।'
पार्टी संगठित सदस्यता थपिएसँग चितवनमा मंसिर १० देखि १२ गते हुने १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको संख्या बढ्ने पनि निश्चित भएको छ । एमालेको कात्तिक १२ गते भएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनमा प्रतिनिधिको संख्या १ हजार ९ सय ९९ राख्ने निर्णय गरेको थियो । 'संगठित सदस्यको संख्या बढ्दा केही प्रतिनिधिको संख्या बढ्न सक्छु विभागका सदस्य भुजेलले भने, 'तर त्यति धेरै बढ्दैन ।' एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ । त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । एमालेको सबैभन्दा बढी मोरङमा करिब ३४ हजार संगठित सदस्य रहेका छन् ।
एमालेले शनिबार एकैपटक देशभर प्रतिनिधि छनोट गर्ने घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै सदस्यहरुलाई प्रतिनिधि छान्नका लागि आग्रह गरेका छन् । त्यसैगरी पार्टीक अन्य नेताहरुले समेत त्यसैगरी आह्ववान गर्दै विभिन्न माध्यमबाट सन्देशहरु जारी गरेका छन् ।
एमालेले नारायण नदीको किनारामा उद्घाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरेको छ । महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । जसले आगामी ५ वर्ष एमालेको नेतृत्व गर्नेछ । शुक्रबार मात्रै १० औं राष्ट्रिय महाधिवेशनको लोगो पार्टी महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेका छन् ।
एमाले प्रतिनिधि छनोटको व्यवस्था
केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि हुने छन् तर सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार हुन नपाउने व्यवस्था गरेको छ ।
प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुन्छन् ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुनेछन् । त्यसैगरी सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने व्यवस्था एमालेले गरेको छ ।
देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना निर्वाचित हुनेछन् ।
भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ।