सौराहा (चितवन) । नेकपा (एमाले) ले प्रथम विधान अधिवेशनबाट पारित २२५ सदस्यीय केन्द्रीय कमिटिलाई बढाएर ३०१ पुर्याएको छ ।
दशौं महाधिवेशनको बन्दसत्रबाट एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटिको संख्या ३०१ पुरयाउने निर्णय पारित गरेको छ । बन्दसत्रमा विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले राखेको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै एमालेले पदाधिकारी र सदस्य चुनिने प्रक्रियामा परिवर्तन गरेको छ ।
एमालेको पदाधिकारीबाहेक भौगोलिक, गैरभौगोलिक र समावेशी समूहबाट निर्वाचित हुने संरचनामा परिवर्तन आएको हो ।
असोज १५ देखि १६ सम्म चलेको विधान महाधिवेशनबाट पारित कमिटीको ढाँचालाई शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले परिवर्तन गरेको थियो। परिवर्तित स्वरुपलाई शनिबारको बन्दसत्रले अनुमोदन गरिसकेको छ । अब एमालेको पदाधिकारी संख्या १९ हुने भएको छ । बाँकी केन्द्रीय सदस्यमध्ये १३७ जना खुला प्रतिस्पर्धाबाट आउनेछन्। तीमध्ये ५३ जना महिला हुनेछन् ।
त्यस्तै, प्रत्येक भौगोलिक प्रदेशबाट ६ खुला र ३ महिलासहित ६३ जना निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक खुला र एक महिलाको लागि निर्वाचन हुनेछ ।
समावेशी समूहमा ७८ जनाको लागि निर्वाचन हुनेछ । जसमध्ये खुलामा ५४ र महिलामा २४ जनाको लागि निर्वाचन हुनेछ ।
पदाधिकारी (सबै खुला): १९
अध्यक्षः १
वरिष्ठ उपाध्यक्षः १
उपाध्यक्षः ६
महासचिवः १
उपमहासचिवः ३
सचिवः ७
केन्द्रीय कमिटी (खुला प्रतिस्पर्धा): १३७
खुलाः ८४
महिलाः ५३
केन्द्रीय कमिटी (भौगोलिक क्षेत्र): ६७ (४४ खुला र २३ महिला)
सात प्रदेशः ६३ (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला)
उपत्यका विशेषः २ (१ खुला र १ महिला)
सम्पर्क समन्वयः २ (१ खुला र १ महिला)
केन्द्रीय कमिटी (समावेशी): ७८ (खुला ५४ र महिला २४)
आदिवासी जनजातिः २५ (१७ खुला र ८ महिला)
मधेसीः १९ (१३ खुला र ६ महिला)
दलितः १२ (८ खुला र ४ महिला)
थारुः ७ (५ खुला र २ महिला)
मुस्लिमः ५ (४ खुला र १ महिला)
श्रमिकः ६ (४ खुला र २ महिला)
पिछडिएको क्षेत्रः ४ (३ खुला र १ महिला)