काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।
एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।
पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’
एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।