काठमाडौं । आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि १५०० सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने भएका छन् ।
महाधिवेशनको तयारी स्वरुप मंसिर १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सवै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गर्दै यस्तो परिपत्र गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्न भनिएको छ ।
त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन गरेको छ । त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ । साथै प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रको छ ।
त्यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।
नेताहरुलाई सम्मेलन केन्द्रीत जिम्मेवारी प्रदान
माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् । त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।
माओवादीले सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरु प्रदेश सहइन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यस अघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरु जिल्ला सहइन्चार्ज रहने निर्णय गरेको छ ।